रोपाइँमा व्यस्त हुनुपर्ने बेला मल नपाएर छटपटाउनुपर्ने अवस्था

२५ असार, विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ की सञ्जादेवी सहनी प्रतिबिघा ३५ मन ठेक्कामा लिएर बर्सेनि धान लगाउँछिन्। ठेक्कामा लिएर २ बिघा क्षेत्रफलमा धान रोपाइँ गर्दै आएकी उनी अहिले मल अभावमा पिरोलिएकी छन्।

‘१ बिघाको ३५ मन ठेक्का बुझाउनुपर्छ। रोपाइँका बेलामा मल नपाउँदा ठेक्का तिर्ने धान पनि फलाउन सक्छु कि सक्दिनँ भन्ने चिन्ताले सताएको छ,’ उनले भनिन्, ‘सरकारले मल दिएन । हामी किसानले कसरी बाँच्नु?’

frontline

मल नपाउँदा मकै पनि राम्रो नफलेको बताउने सहनी धान लगाउने बेला उस्तै समस्या झेल्नु परेको गुनासो पोख्छिन्। समयमा मल पाउँदा प्रति बिघा ६० देखि ७० मन धान फलाउने गरे पनि यसवर्ष त्यो सम्भावना नरहेको उनको गुनासो छ। लागत खर्च बढ्दा कृषकले खेती धान्नसक्ने अवस्था नभएको उनले बताइन्।

रंगेली नगरपालिका–१ का भोगेन्द्र बस्नेत ४ बिघामा धान लगाउँछन्। ‘माटोलाई मल हाल्ने बानी परेको छ। मल नहाले उत्पादन राम्रो हुँदैन,’ उनले भने, ‘तर नपाएर भौतारिनु परेको छ।

हाम्रो दुःख सरकारले देखेन।’ धान रोपाइँमा व्यस्त हुनुपर्ने बेला मल नपाएर छटपटाउनुपर्ने अवस्था आइरहेको दुखेसो बस्नेतले पोखे।

मलको अभावले पिरोलिरहेका बेला इन्धनको मूल्य बढाएर कृषकलाई सरकारले अर्को भार थपिदिएको गुनासो उनको छ। ‘सरकारको सहयोग नपाउँदा किसानलाई खेती गर्न मुस्किल परिरहेको छ,’ उनले भने, ‘उत्पादनमा ह्रास आएर यसवर्ष मुलुकमा ठूलो खाद्य संकट आउने अवस्था छ।’

१ बिघामा धान लगाउँदा ६० हजार रूपैयाँसम्म खर्च लाग्ने बस्नेतले बताए। मल नलगाउँदा धान भने एक बिघामा ४० मन पनि फल्न मुस्किल पर्ने गुनासो उनको छ।

‘मल पाउँदा र समयमा पानी पर्दा उत्पादन पर्याप्त हुन्थ्यो। मल नहालेसम्म माटोले उत्पादन राम्रो दिँदैन,’ बस्नेतले भने, ‘खेतीमा लागत बढ्ने र उत्पादन घट्ने समस्या आइरहेको छ। त्यहाँमाथि सरकारले समयमा मल उपलब्ध गराएन।’ उनले खेती नै छाड्नुपर्ने अवस्थामा किसान पुगिसकेको गुनासो गरे।

सहनी र बस्नेतजस्ता किसानहरुले यसवर्ष रासायनिक मलको चरम अभाव भोगिरहेका छन्। कृषकहरुले मल अभावका कारण उत्पादनमा ह्रास आउने र चर्को मूल्यवृद्धिले लागत बढ्ने गुनासो गरेका छन्। सरकारको बेवास्ताको सिकार हुँदा किसान सबैभन्दा बढी मर्कामा परिरहेको उनीहरुको भनाइ छ।

रोपाइँको चटारोमा व्यस्त हुनुपर्ने बेला मल माग्दै किसान सडकमा निस्किएका छन्। किसानले सरकारविरुद्ध शनिबार विराटनगरमा प्रदर्शन गरेका छन्। रोपाइँ गर्न छाडेर उनीहरु सरकारविरुद्ध आन्दोलित बनेका हुन्।

अखिल नेपाल किसान महासंघको अगुवाईमा तत्काल रासायनिक मल उपलब्ध गराउनुपर्ने र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग राखेर किसानले आन्दोलन सुरु गरेका हुन्। पत्रकार सम्मेलनसमेत गरेर तत्काल मागको सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन्।

अखिल नेपाल किसान महासंघ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले वर्तमान सरकार किसानमारा रहेको आरोप लगाए। ‘नेपाललाई कृषि प्रधान देश भनिए पनि मुख्य बाली धान लगाउने बेलामा कृषकले मल पाएका छैनन्। खेतीमा आवश्यक पर्ने इन्धनमा मूल्यवृद्धि गरिएको छ,’ उनले भने, ‘सरकार जनविरोधी गतिविधि गरिरहेको छ। किसानका समस्याको सुनुवाइ नै हुँदैन।’

बाली लगाउन व्यस्त हुनुपर्ने बेलामा सरकारको आलोचना गरेर कृषकले सडकमा उत्रनुपर्ने अवस्था आउनु दुःखद् भएको उनले बताए। चुप लागेर बस्नसक्ने अवस्था नभएको र पीडा थाम्न नसकेपछि मल अभाव र इन्धनको मूल्यवृद्धिविरुद्ध आन्दोलन सुरु गरेर किसानले सडक तताउनु परेको पौडेलले बताए।

मलका लागि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि किसानका कुरा कसैले नसुनेको उनले बताए। ‘पीडाले किसानलाई अति सताइसक्यो। सशक्त आन्दोलनमा जान सरकारले बाध्य पार्दैछ,’ पौडेलले भने, ‘हैन भने, मलको आपूर्ति सहज बनाओस् । मूल्यवृद्धि नियन्त्रण गरोस्।’

तत्काल मागको सुनुवाइ नभए प्रशासन कार्यालय घेराउ गर्नेदेखि लिएर साल्ट ट्रेडिङ, कृषि सामग्री कम्पनी लिमिटेड लगायतका निकायमा तालाबन्दी गरिने उनको भनाइ छ। सरकारलाई दबाब दिनका लागि अब जस्तोसुकै आन्दोलन गर्न पनि कृषक तयार रहेको उनको भनाइ छ। सबै कृषक सडकमा निस्किए भने सरकारले थेग्न नसक्ने चेतावनी उनको छ।

कार्यक्रममा नेकपा एमाले मोरङका सचिव रूपेश खतिवडाले वर्तमान सरकार जनउत्तरदायी बन्न नसकेको आरोप लगाएका छन्। उनले सरकारको पछिल्लो भूमिका र शंकास्पद गतिविधिले अब नेपाल नेपालीको हुँदैन कि भन्ने त्रास उत्पन्न भइरहेको बताए। सरकारका कारण राष्ट्रियता नै खतरामा परिरहेको खतिवडाको भनाइ छ।

‘कृषि प्रधान हाम्रो मुलुकका किसानले मुख्य बाली लगाउने बेलामा मल अभाव र इन्धनमा मूल्यवृद्धिको सामना गर्नु परेको छ। सरकार भने जनअपेक्षा र जनहीतविपरीत चलिरहेको छ,’ खतिवडाले भने, ‘किसानको समस्याको सुनुवाइ गर्दैन। न त उनीहरुका मागको सम्बोधन गर्न चासो दिन्छ।’

यो बेला पनि मल नदिएर तथा इन्धनको मूल्य बढाएर किसान विरोधी कदम चालिरहेको सरकार श्रमजीवी र सर्वहाराको पक्षमा नभएको उनले बताए। सरकारका कारण कूल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको कृषि क्षेत्र धराशायी बनिरहेको खतिवडाको भनाइ छ।

‘मुलुक महँगीको चपेटामा परेको छ। रोजगारी गुम्दै गइरहेको छ,’ उनले भने, ‘मल नपाएर किसानका पीडा सडकमा पोखिन थालेका छन्। खेत जोत्नका लागि कृषकले इन्धन खरिद गर्नसक्ने अवस्था छैन।’ एमाले सचिव खतिवडाले चुप लागेर नबस्न र सरकारविरुद्ध एक भएर आन्दोलनमा होमिन कृषकलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here