काँक्रेविहारको संरक्षणमा राष्ट्रपति भण्डारीको चासो
१७ जेठ, सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटकीयस्थल काँक्रेविहार क्षेत्रको संरक्षणमा चासो दिएकी छन्। सुर्खेतको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको काँक्रेविहारको अवलोकन गर्दै उनले यसको संरक्षणमा चासो दिएकी हुन्।
वीरेन्द्रनगरमा रहेको ऐतिहासिकस्थल काँक्रेविहारको मंगलबार अवलोकन गर्दै राष्ट्रपति भण्डारीले यसको विकास र उत्पतिबारेसमेत जानकारी लिइन्।
राष्ट्रपति भण्डारी सुदूरपश्चिमको भ्रमणमा जाने क्रममा मंगलबार वीरेन्द्रनगर आएकी हुन्। उनी बुधबार सुदूरपश्चिमको पर्यटकीयस्थल बडिमालिका अवलोकन गर्न जाने कार्यक्रम छ। सोहीक्रममा उनले मंगलबार काँक्रेविहार क्षेत्रको अवलोकन गरेकी हुन्।
राष्ट्रपति भण्डारीलाई कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालले काँक्रेविहारको ऐतिहासिकता र पुरातात्विक महत्वको बारेमा जानकारी गराएका थिए।
त्यसक्रममा राष्ट्रपति भण्डारीले हिन्दू र बौद्ध धर्मको अनुपम कलाको नमूनाको रुपमा निर्माण भएको काँक्रेविहारको थप विकास र संरक्षणमा चासो राखेकी हुन्।
कर्णाली प्रदेशसभा सदस्य कँडेलले राष्ट्रपति भण्डारी बुधवार बडिमालिका अवलोकन गर्न जानेक्रममा मगंलवार सुर्खेतमा अनौपचारिक बसाई गर्ने क्रममा काँक्रेविहारको अवलोकन गरेको बताए।
सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनामाया ढकालले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी थिइन्।
ऐतिहासिक महत्वको काँक्रेविहारमा पछिल्लो समय पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण गरेको छ। लामो समयसम्म अलपत्र अवस्थामा रहेको काँक्रेविहारलाई पछिल्ला दिनमा पुनर्निनिर्माण र संरक्षणको प्रयास गरिएको छ।
राष्ट्रपतिबाट कर्णालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको काँक्रेविहार क्षेत्रको अवलोकन भएसँगै यसको संरक्षणमा थप टेवा पुग्ने स्थानीयको भनाइ छ।
साथै काँक्रेविहारको संरक्षण र विकास भएमा कर्णालीमा पर्यटकलाई आकर्षित गर्न सकिने उनीहरुको विश्वास छ।
राष्ट्रपतिबाट अवलोकन हुने जानकारी पाएपछि कर्णाली प्रदेशसभा सदस्यहरु, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।
काँक्रेविहार क्षेत्रको विकास र संरक्षणका लागि यसअघि पनि जिल्लाबासीले सरकारका उच्च पदाधिकारीहरुलाई ध्यानाकषर्ण गराउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस्