भारत पुगेको गैंडाको उद्धार, निकुञ्जतर्फ ल्याइँदै
२१ मंसिर, चितवन । बाढीले बगाएर भारत पुगेको एउटा गैंडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ ।
भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका-६ बाट गैंडालाई डाट गरेर बेहोस बनाई सोमबार चितवनतर्फ ल्याउँदै गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठकाअनुसार अन्दाजी सात÷आठ वर्षको भाले गैंडालाई उद्धार गरी ल्याइएको हो ।
बाढीका कारण भारत पुगेको सो गैंडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैंडा यसअघि तिहारको समयमा केही दिन सोही क्षेत्रमा देखिएको थियो ।
श्रेष्ठकाअनुसार त्यतिबेला नियन्त्रणमा लिन खोज्दा भागेर भारततर्फ गएको थियो ।
नेपालतर्फ आएको मौका पारेर गैंडालाई चितवन ल्याउन लागिएको हो,’ श्रेष्ठले भने, ‘विसं २०७४ वा त्यसअघिका बाढीमा यो गैंडा बगेर भारत पुगेको हो ।’
श्रेष्ठकै नेतृत्वमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारीसँगै सुरक्षाकर्मीले गैंडालाई उद्धार गरेका हुन् । सो क्रममा छ वटा हात्ती परिचालन गरिएको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैंडालाई निकुञ्जको पूर्वी क्षेत्रमा छाडिँदैछ । गैंडाको संख्या कम भएको क्षेत्रमा छाड्न लागिएको हो ।
सुस्ताको उखुबारीमा गैंडा चरेको देखेपछि स्थानीयबासीले निकुञ्जलाई खबर गरेका थिए । सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैंडा फिर्ता गरेको थियो ।
भारत पुगेर आफैँ नेपालतर्फ फर्किएका तीन गैंडालाई पनि सीमा नजिकैबाट डाट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो ।






प्रतिक्रिया दिनुहोस्