जलवायु परिवर्तनसँग लड्ने सयम घर्किँदै छ : बेलायती प्रधानमन्त्री

१५ कात्तिक, काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जलवायु परिवर्तनसँग लड्ने सयम घर्किँदै गएको बताएका छन् । ग्लास्गोमा जारी जलवायुसम्बन्धी कोप-२६ सम्मेलनमा विश्व नेताहरू भेला भइरहेका बेला जोनसनले यस्तो बताएका हुन् ।
बीबीसीसँग कुरा गर्दै जोनसनले जलवायु परिवर्तनसँग जुध्नका लागि विश्वसामू ‘निकै कम समय’ रहेको बताए । सम्मेलनमा सहभागी नेताहरूले विश्व तापमान कम गर्नका लागि ‘आकांक्षाबाट कार्यतर्फ’ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।




जलवायुसम्बन्धी ग्लास्लो सम्मेलन महत्वपूर्ण क्षण भएको तर महत्वाकांक्षी नतिजा आउने भनेर ढुक्क हुने अवस्था नरहेको पनि जोनसनले बताए ।
त्यस्तै पहिलो पटक जोनसनले कम्ब्रियामा प्रस्तावित गरिएको तर विवादित बनेको कोइला खानी अघि नबढोस् भन्ने आफ्नो चाहना रहेको पनि प्रस्ट पारेका छन् ।
बेलायतले आइतबारदेखि जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन आयोजना गरिरहेको छ । हरित गृह ग्यास उत्सर्जन कटौतीका लागि मुलुकहरूले पर्याप्त कदम नचालेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरिरहेका बेला कोप-२६ नामाकरण गरिएको उक्त सम्मेलन आयोजना गरिएको हो ।
यसअघि २०१५ मा पेरिसमा आयोजित जलवायु सम्मेलनपछि विश्वको औसत तापक्रम वृद्धि २ डिग्रीभन्दा कममा सीमित गर्न अपील गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्