रुसको कोभिड खोपले अन्तर्राष्ट्रिय मान्यता नपाएको भन्दै पुटिनद्वारा गुनासो
१४ कात्तिक, काठमाडौं । रुसले रोममा आयोजित जी-२० शिखर सम्मेलनमा आफ्नो कोभिड खोपले अन्तर्राष्ट्रिय मान्यता नपाएको भन्दै गुनासो गरेको छ ।
शनिबार राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक-भी नामक कोरोनाभाइरसविरुद्धको रुसी खोपलाई अन्तर्राष्ट्रिय मान्यता नदिएको विषयप्रति गुनासो गरेका छन् ।
जी-२० का नेताहरूले विश्वव्यापी खोप अभियान तीव्रता पार्ने सहमति गरेको रोम शिखर सम्मेलनमा भिडियोमार्फत् सम्बोधन गर्दै उनले आक्रोशित हुँदै गुनासो पोखेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
पुटिनले आफ्नो भिडियो सन्देशमा जी-२० का स्वास्थ्य मन्त्रीलाई खोप र खोपसम्बन्धी प्रमाणपत्रबारे छलफल गरी ‘चाँडोभन्दा चाँडो’ मान्यता दिन समेत आग्रह गरेका छन् ।
‘जी-२० को निर्णयका बाबजूद पनि कोभिडविरुद्धको खोपसम्म खोपको आवश्यकता रहेका सबै मुलुकको पहुँच छैन’, भिडियो सन्देशमा पुटिनले भनेका छन् ।
बेइमानीपूर्ण प्रतिस्पर्धाका कारण रुसी खोपले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा खोपको आवश्यकता रहेका मुलुकले पहुँच नपाएको समेत पुटिनको भनाइ थियो ।
‘बेइमानीपूर्ण प्रतिस्पर्धा, संरक्षणवाद र जी-२० मा आबद्ध केही मुलुकहरू खोप र यससम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन तयार नभएकै कारण यस्तो अवस्था आएको हो’, उनले थपे ।
यसै महिनाको सुरुमा दक्षिण अफ्रिकाले खोपको अभावबीच रुसी कोभिड खोपलाई मान्यता दिन अस्वीकार गरेको थियो । रुसी खोप स्पुतनिकका कारण पुरुषमा एचआईभी संक्रमण बढ्न सक्ने दाबी गर्दै दक्षिण अफ्रिकाले मान्यता दिन अस्वीकार गरेको हो ।
त्यस्तै, युरोपेली युनियन र अमेरिकामा समेत स्पुतनिकले आधिकारिक अनुमति पाएको छैन ।
रोममा आयोजित जी-२० शिखर सम्मेलनमा पुटिनले झैं भिडियोमार्फत् सहभागिता जनाएका चिनियाँ राष्ट्रपति सी जिङपिङले पनि खोपले आपसी मान्यता पाउनुपर्ने बताएको चिनियाँ सरकारी समाचार माध्यममा उल्लेख गरिएको छ ।
पुटिन र सीले आफ्नो मुलुकमा लागू गरिएका कोरोनाभाइरससम्बन्धी कडा नियमका कारण इटलीको भ्रमण नगरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्