जिता नदीको तटबन्ध भत्किँदा १५० घर डुबानमा , दुई घर ढले

फाइल तस्बिर

मंगलबार, राजविराज ।  जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–५ का १ सय ५० घरमा पानी पसेको छ । दुईवटा घर ढलेका छन् । 

मंगलबार बिहान उक्त वडास्थित पश्चिमी तटबन्ध भत्किएको हो । बिहानैदेखि जिता नदीमा पानीको बहाब उच्च भएको थियो ।

frontline

गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ ।

जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका १ सय ५० घरमा पसेको झाले बताए । उनका अनुसार दुईवटा घर भत्किएका छन् ।

बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा संकटमा छन् । उनीहरूलाई पशुचौपाया र सम्पत्ति जोगाउन मुस्किल परेको छ ।

बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित बस्ती पुगेको छ ।

अध्यक्ष सिंहले प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिएको बताए । उनले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here