ज्वाइँलाई छोरा भनेर नागरिकता किर्ते गरेकोमा तीनजना पक्राउ
दाङ । दाङमा ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
किर्ते नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा दाङ देउखुरीको राजपुर गाउँपालिका – ७ का वडाध्यक्ष सहित तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वडा अध्यक्ष भीमबहादुर खड्कासहित त्यही वडाका भीमबहादुर कामी र उनकी छोरी सुशीला विक रहेका छन् ।
भीमबहादुर कामीले ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तर, नागरिकता बनाउँदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ ।
अर्जुन सुशीलाका श्रीमान् हुन् । उनी हाल बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो ।
नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ ।
यस कार्यमा भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्