सहकारीपीडितको रकम फिर्ता गर्ने अभियानमा थिए देवकुमार, अदालतले तोक्यो ८ वर्ष कैद र सवा करोड जरिवाना

बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमार नेपालीको जेलमुक्त हुने सपना पुनः तुहिएको छ। 

पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीले उनलाई  दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय र १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएपछि मेलमिलापमार्फत सफाइ लिने उनको अभियान अवरुद्ध बनेको हो।

frontline

जबकि उनले इमेज सहकारीपीडितमध्ये बागलुङका १ हजार ५४३ र कास्कीका ५ सय २४ जनामध्ये बागलुङका १ हजार ४ सय ६९ जना र पोखराका ४ सय २४ जनासँग मिलापत्र गरिसकेका थिए। उनीविरुद्ध बागलुङमा २ अर्ब र पोखराबाट ६० करोडभन्दा बढी रकम अपचलन गरेको दाबी थियो।

बागलुङमा सहकारीका १ लाखभन्दा  कम बचतकर्तामध्ये ६७३ जनालाई रकम फिर्ता गरिएको थियो भने करिब ९३ प्रतिशत उजुरीवालासँग मिलापत्र भएको थियो। कास्कीमा पनि धेरैजसोले पैसा फिर्ता पाइसकेका थिए भने ११० जनाले चाहिँ पैसा फिर्ता नपाएको भन्दै २०८२ कात्तिक २५ मा कास्की जिल्ला अदालतमा १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी गर्दै १५ जना सञ्चालकविरुद्ध पुरक जाहेरी हालेका थिए। 

देवकुमारविरुद्धको सो मुद्दामा यही कात्तिक १७ गते जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले उनीसहित अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवानाको तथा सहकारीका सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

इमेज सहकारीको बागलुङ शाखाको ठगी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका देवकुमारविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले २०८२ साल असोज २३ गते जिल्ला अदालत बागलुङमा नेपालीसहित उनकी पत्नी छेला नेपालीविरुद्ध १ अर्ब ५८ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको जिकिरसहित मुद्दा दायर गरेको छ। उजुरीमा उनीबाट ६ करोड ९८ लाख रुपैयाँ विगो मागदाबी गरिएको छ।

सम्पत्ति शुुद्धीकरणको मुद्दामा मिलापत्र गर्न मिल्दैन। बचतकर्तासँग मिलापत्र गर्दै अगाडि बढेको बेला सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थपिएपछि देवकुमार विरक्तिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको बहुचर्चित सूर्यदर्शन सहकारी ठगीको पनि आरोपित रहेका उनले त्यसपछि यता तोकिएको २० लाख धरौटी तिर्ने जाँगर पनि चलाएनन्। त्यही मुद्दामा जोडिएका रविसहितका आरोपीहरू धरौटी बुझाएर छुट्दा मेलमिलापको तारतम्य मिलाउने इमेज बचतपीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीमाथि पनि एउटा समूहले मुद्दा हाल्यो।

डिलबहादुरविरुद्ध २ करोड ६६ लाख अपचलन गरेको आरोपमा मुद्दा दायर गरियो। संघर्ष समितिका संयोजक डिलबहादुरका २०८१ साल असोज १३ गते नेपाल फर्किएका देवकुमारले मेलमिलापको अभियान सुरु गरेसँगै एउटा समूह उनको सम्पत्ति हड्प्ने षड्यन्त्रमा लाग्यो। त्यही समूहले देवकुमारलाई पनि गुमराहमा राखेर देवकुमारको नाममा रहेको घरजग्गा बिक्री प्रक्रिया पनि सँगै अगाडि बढ्यो।

त्यही उपक्रममा पोखरामा रहेको ९ तले कर्मा कम्प्लेक्स, बागलुङको बुर्तिबाङमा रहेको दरबार, बागलुङमा रहेको सीवाइसी भवन र त्यहाँ रहेको कर्मा कम्प्लेक्स बिक्री गरियो। करिब २५ करोड पर्ने पोखराको ९ तले बिल्डिङ ४ करोड ५० लाख, बागलुङको सीवाइसी भवन ३ करोड, बागलुङकै कर्मा कम्लेक्स १२ करोडमा बिक्री गरियो। 

खासमा ती सबै भवनहरु बैंकमा धितोमा थिए। धितो फुकुवा नभएसम्म भवन बिक्री हुँदैनथ्यो। बैंक र बिचौलियाको मिलेमतोमा यी सबै काम भएको संयोजक कार्कीको दाबी छ। देवकुमार स्वयंले पनि आफूलाई गुमराहमा राखेर सम्पत्ति बिक्री गरिएको गुनासो गरेका थिए। 

संघर्ष समितिका संयोजक डिलबहादुर भन्छन्,‘बचतकर्ताले २० करोडमा स्वीकार्छौँ भनेको बागलुङको कर्मा कम्प्लेक्स १२ करोड र पोखराको २५ करोड हाराहारी पर्ने कम्प्लेक्स पनि कौडीको भाउमा बिक्री भयो। त्यो पैसा बचतकर्तासम्म आइपुगेन। बचतकर्ता मिलेको कुरा सो समूहले मन पराएन र मुद्दा हाल्यो। बाँकी बचतकर्ताको रकम फिर्ता हुन नपाउँदै  सम्पत्ति शुद्धीकरणको मुद्दा हालियो। देवकुमारलाई फसाइयो।’ 

सम्भव थियो जेलमुक्ति 
महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ साल पुस ३० गते ‘संगठित अपराधको अभियोग हटेमा मात्र सहकारी वा सम्बन्धित कम्पनीहरूको सम्पत्ति बेचबिखन गरी बचतकर्तालाई रकम फिर्ता गर्ने बाटो खुल्ला रहने’ सहित विभिन्न तर्कसहित मुद्दा फिर्ताको निर्णय गरेपछि सहकारी ठगीमा डामिएकाहरूले उन्मुक्ति पाउने बाटो खुल्यो। सो निर्णयपछि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्कीसहित विभिन्न ४ वटा अदालतमा रहेको शुद्धीकरणको अभियोगबाट मुक्ति पाए। 

रविसँगै फरार रहेका गीतेन्द्रबाबु (जीबी)राई) पनि यो अभियोगबाट चोखिए। जीबी अहिले पनि मलेसिया रहेको विश्वास गरिन्छ। उनले सूर्यदर्शनसहितका सहकारी अपचलन गरेको पैसा मलेसिया पुर्‍याएको आशंका गरिएको छ।  

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएकाहरू सबैजसो जेलबाट छुटेका छन्। २०८० साल असोज १८ र १९ गते र पुस १२ गते थप ४३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको मुद्दा दायर भएको थियो। सहकारीको बिगो दाबी गरिएको १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँमा सामूहिक दायित्वसहितको अभियोगमा सूर्यदर्शनबाट अपचलन गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको ५ करोड ६१ लाख रुपैयाँ जीबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेलसहित १२ जनाबाट असुल गर्नुपर्ने जिकिर थियो। गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविको हकमा ३ करोड ३७ लाख व्यक्तिगत बिगो माग गरिएको थियो। 

जिल्ला अदालत कास्कीको २०८१ साल पुस २५ गतेको आदेशपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन्। धरौटीमा रिहा भएका रविमाथि सहकारीको रकम हिनामिनाको अभियोग बाँकी नै छ। उनी अहिले अदालत धाउनु नपर्ने अवस्थामा छन्। तर, सहकारीको बचत रकम अपचलनको मुद्दाबाट उन्मुक्ति पाउनका निम्ति उनले त्यसको रकम तिर्नैपर्छ। यो रकम तिर्ने सबैभन्दा सजिलो बाटो भनेको उजुरीकर्ताहरूसँगको सहमति नै हो। 

सूर्यदर्शन सहकारीमा १८ हजार ७ सयजना बचत सदस्य छन्। तीमध्ये १ हजार १ सय ५७ जनाले रवि र जीबीविरुद्ध उजुरी दिएका थिए। उनीहरूकै उजुरीको आधारमा ६३ मध्ये १७ जना पक्राउ परेका थिए। 

सूर्यदर्शन बचत तथा ऋण सहकारीपीडित संघर्ष समितिको संयोजक हुँदै हाल सो सहकारी संचालक समितिको अध्यक्ष रहेका किरण श्रेष्ठका अनुसार आफूले अपचलन गरेको रकम तिर्ने प्रतिवद्धतासहित आरोपितहरू रिहा भए पनि सूर्यदर्शनको हकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु चाहिँ भइसकेको छैन।

अदालतको फैसलाको पूर्णपाठ भने तयार भइनसकेको जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलले बताएका छन्। तर, घरखेत बेचेर झण्डै ९३ प्रतिशत पीडितको पैसा फिर्ता गरेका देवकुमारको हकमा चाहिँ पछिल्लो फैसलाले जेलको बास लम्ब्याइदिएको छ। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here