देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड

१ मंसिर, पोखरा । कास्कीको इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड रुपैयाँ जरिबानाको फैसला गरेको छ । पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीको रकम हिनामिनामा देवकुमारलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबानाको फैसला भएको हो ।

न्यायाधीश चन्द्रप्रकाश इजलासले कात्तिक १७ गते देवकुमारसहित ७ जनालाई कैद सजाय, जरिबाना र बिगो रकम असुल गर्ने फैसला गरेको छ । फैसलाको पूर्णपाठ आइसकेको छैन । २०८२ कात्तिक २५ कास्की जिल्ला अदालतमा दायर भएको पुरक अभियोगपत्र अनुसार फैसला भएको हो । बागलुङको इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बाङलुङ कारागार चलान भएका देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पोखरामा अभियोग दर्ता भएको थियो ।

frontline

सुरुमा ५ सय २४ जनाको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै २०८० भदौ १२ गते कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।

जसमध्ये ५ किस्तामा ४ सय जनाको मिलापत्र भएको थियो । बाँकी १ सय १० जनाको जाहेरीका आधारमा झण्डै १८ करोड बिगो माग दाबी गर्दै १५ जनाविरुद्ध नै अभियोगपत्र दायर गरिएको थियो ।

त्यही अभियोग पत्रका आधारमा इमेज सहकारी ठगीको मुद्दा फैसला भएको र त्यसको पूर्णपाठ भने अझै आउन केही समय लाग्ने कास्की जिल्ला अदालतका अधिकृत तारानाथ पोखरेलले जानकारी दिए ।

सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष तथा अन्य ४ जना प्रतिवादीलाई ६ वर्षका दरले कैद सजाय हुने फैसला गरेको छ । सञ्चालक चित्रबहादुर र शक्ति किसानलाई ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ ।

निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङसहित ४ जनालाई जनही ६ वर्ष कैद सजाय र १ लाख २६ लाख २३ हजार रुपैयाँ नै जरिबाना गर्ने फैसला भएको पोखरेलले अनलाइनखबरसँग बताए ।

‘सुरुमा भएको जाहेरी र मागदाबीमा मिलापत्र भएपछि न्याय प्रक्रियाबाट अलग भएका बाहेक कमलप्रसाद पौडेलसमेत १ सय १० जनाको जाहेरीको आधारमा अभियोग दर्ता भएको हो,’ अधिकृत पोखरेलले भने, ‘७ जनालाई कैद र जरिबानासँगै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो माग भएको छ ।’

इमेज सहकारी ठगी प्रकरणमा अझै ८ जना फरार छन् । उनीहरुको हकमा सबै विस्तृतमा पूर्णपाठ आएपछि मात्रै भन्ने सकिने अदालतले जनाएको छ । इमेज सहकारीको सम्पत्ति, ऋणीबाट असुल गर्ने, सबै बचतकर्ताहरुको रकम कसरी फिर्ता गर्ने भन्ने विस्तृतमा फैसलाको पूर्णपाठबाट मात्रै जानकारी हुने भएको छ ।

लामो समयसम्म सहकारीको मुद्दा बल्झिरहने, पीडित बचतकर्ताले रकम पनि नपाउने र सञ्चालकलाई थुनिमात्र राख्ने राख्दा समस्या समाधान हुनुको साटो झन् बल्झिँदै गइरहेको गुनासो थियो ।

अब भने देशैभरि चासो र धेरै पीडितसमेत जोडिएको भनिएको पोखराको इमेज सहकारीको मुद्दा भने अब निरुपण हुन सक्ने सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले बताए ।

कास्की जिल्ला अदालतको फैसला चित्त नबुझे पूर्णपाठ आएपछि देवकुमार उपल्लो अदालतमा पुनरावेदनका लागि जानेछन् । कास्की जिल्ला अदालतको फैसला कार्यान्वयन भइहाले इमेज सहकारीको समस्या समाधान हुने देखिएको छ ।

दोस्रो कार्यकालका लागि बागलुङको ढोरपाटन नगरपालिकाको मेयर विजयी भएका देवकुमारले बचतकर्ताको रकम व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा खर्च गरेका थिए । बागलुङ र पोखराका नागरिकले नेपालीप्रति विश्वास गरेर सहकारीमा जम्मा गरेको रकममा कुठाराघात गरेका थिए ।

नेपालीले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका विभिन्न ३३ ठाउँमा जग्गा किनेको भेटिएको थियो । खर्चिलो र बिलासी जीवन बाँचिरहेका नेपाली २०७४ सालमा तत्कालीन माओवादीबाट अघिल्लो दिन एमाले प्रवेश गरेर ढोरपाटन नगरपालिकाको टिकट हात पारेर जितेका थिए ।

बागलुङ र पोखरामा भएको देवकुमारको सहकारी रहेको भवनसहितको घरजग्गा बैंकले लिलामी गरिसकेको छ । बागलुङमा नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि विचाराधीन अवस्थामै छ ।

परिवारसहित फरार देवकुमार नेपाल ल्याइएलगत्तै थुनामा

इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली, उनकी श्रीमती छेला नेपाली, छोरा सन्तोष नेपालीसहित सञ्चालक, लेखा समिति र व्यवस्थापनमा संलग्न व्यक्तिहरूले बचत रकम हिनामिना पारेको आरोप थियो ।

सहकारीको बचत तथा शेयर रकम हिनामिना गर्ने, ऋण असुली नहुने गरी आफूखुसी कर्जा प्रवाह गर्ने, नातेदार तथा अन्य व्यक्तिलाई ऋण दिने र संस्थाको रकम दुरुपयोग गर्ने अभियोग उनीमाथि थियो ।

इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली २०८० वैशाख ७ गते सहकारी कार्यालय बन्द गरेर सम्पर्कविहीन भएका थिए । उनी २०८० जेठ ४ गतेदेखि फरार भएका थिए । बचतकर्ताको रकम फिर्ता नगरी सम्पर्कविहीन भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि २०८० माघमा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । करिब डेढ वर्ष फरार रहेका नेपालीलाई २०८१ असोज ११ गते भारतको नयाँदिल्लीबाट पक्राउ गरिएको थियो । त्यसपछि नेपाल ल्याइएका उनलाई असोज १५ गते जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

बागलुङ र पोखरा दुवै ठाउँमा इमेज सहकारी सञ्चालन गरेका नेपालीविरुद्ध दुवै जिल्लामा छुट्टाछुट्टै सहकारी ठगी मुद्दा चलेको छ । उनी मिलापत्र गरेर बचत रकम फिर्ता गर्ने अभिप्रायले नै नेपाल फर्किएको उनीनिकटको भनाइ छ ।

उनी फरार रहेकै अवस्थामा पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै त्यो बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्न चाहेको बताएका थिए । उनलाई भारतबाट पक्राउ गरेर ल्याइएको बताइए पनि उनी आफैं पनि फर्केर सहकारीको बचत रकम मिलाउन चाहेरै आएको उनीनिकट स्रोतको भनाइ छ ।

बागलुङमा १ अर्ब ५ करोड ३० लाख रुपैयाँ मिलापत्र

बागलुङको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई २०८२ जेठमा कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जेठ १२ गते कास्की जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनी बागलुङमै पुर्पक्षका लागि थुनामा कारागार बसेका थिए ।

पोखरासँगै बागलुङमा पनि इमेज सहकारीका नाममा बचतकर्ताको ठूलो रकम हिनामिना भएको छ । बागलुङ बजारको मुख्य कार्यालय तथा बुर्तिबाङ र गलकोट सेवा केन्द्रमार्फत बचतकर्ताको रकम संकलन गरिएको थियो ।

बागलुङमा देवकुमार नेपालीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दायर भएको थियो । त्यहाँ १ अर्ब ५४ करोड रुपैयाँ ठगी भएको बताइएको थियो । १ हजार ५४३ जनाको जाहेरीका आधारमा १ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला अदालत बागलुङमा मुद्दा दायर भएको हो ।

बागलुङमा करिब १ अर्ब ५ करोड ३० लाखको मिलापत्र भइसकेको पाइएको छ । १ हजार ५४३ जाहेरी दिने बचतकर्तामध्ये सुरुका करिब ११६ जना र पछि पुरकका ३१ जनाको मिलापत्र बाँकी रहेको देखिएको सरकारी वकिलको कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता भीमप्रसाद भूर्तेलले जानकारी दिए ।

पछिल्लो समय पनि ७ करोड ३४ लाख रुपैयाँ मिलापत्र भएको र अब २५ करोड ३० लाख रुपैयाँका हाराहारीमा बाँकी रहेको देखिएको पाइएको छ । बागलुङमा भने मुद्दाको फैसला हुन बाँकी छ । बागलुङमा देवकुमारविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत रहेकाले फैसला हुन समय लागेको अदालतको भनाइ छ ।

सहकारी ठगीको अभियोगमा जेल पुगेका सञ्चालकलाई अदालतले कैद सजाय सुनाए पनि आफ्नो रकम कहिले र कसरी फिर्ता पाउँछन् भन्ने बचतकर्ताले प्रश्न गरेका छन् । इमेज सहकारीका बचतकर्ता हरि कार्कीले अदालतले तोकेको बिगो र जरिबाना असुली तथा सहकारीको सम्पत्ति व्यवस्थापनबाट पीडितले वास्तविक रूपमा कति रकम प्राप्त गर्छन् भन्ने मुख्य कुरा भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here