प्रधानमन्त्रीको भारत भ्रमणअघि स्थानीय चुनावको मिति तोक्न आयोगको ताकेता
निर्वाचन आयोगले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणअघि नै स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि छलफल थालेको छ।
आयोगको टोलीले शनिबार गृहमन्त्री सुधन गुरुङसँग निर्वाचन केन्द्रित छलफल गरेको छ। गृहमन्त्री गुरुङसँगको छलफलमा आयोगले स्थानीय तहको चुनावका लागि चार महिनाको समय चाहिने जानकारी गराएको छ।
‘चुनाव गराउन आयोगलाई चार महिनाको समयावधि छुट्याउनुपर्छ। त्यसो गर्दा चैतमा चुनाव गराउन सकिन्छ,’ गृहमन्त्रीसँग राखेको प्रस्ताव उद्धृत गर्दै एक निर्वाचन आयुक्तले नेपालखबरसँग भने, ‘अब छिटोभन्दा छिटो सरकारले मिति तोक्नुपर्छ।’
आयोगले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहसँग भेटेर मितिका विषयमा छलफल गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाह मंसिरको ६ गतेदेखि तीनदिने भ्रमणका लागि भारत जाने तयारीमा छन्।
‘हाम्रो चाहना प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै चुनावको मिति तोकिदिए हुन्थ्यो भन्नेछ, अब भेटेर हाम्रो कुरा राख्ने र मिति पनि तय गर्ने भन्नेछ,’ उनले थपे,‘सोही अनुसार गृहमन्त्रीसँग छलफल गरिसकेका छौँ।’
गृहमन्त्री गुरुङसँगको छलफलपछि आयोग उत्साहित छ। छलफलमा गृहमन्त्री गुरुङले विदेशमा बसेका नेपाली नागरिकलाई यसैपटकको निर्वाचनदेखि मतदानमा सहभागी गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
‘गृहमन्त्रीले अन्तरजिल्ला र विदेश बस्ने नेपालीलाई पनि यसैपटकको स्थानीय चुनावदेखि मताधिकारी दिनुपर्छ भन्नेमा हुनुहुन्छ। हामीले जसरी पनि गर्नुपर्छ। कानुनलाई कसरी परिवर्तन गर्ने, कानुनी अल्झल हटाउन उहाँ धेरै सकारात्मक हुनुहुन्छ,’ ती आयुक्तले भने।
आयोगले गृहमन्त्री यूएईबाट फर्केपछि फेरि यसबारे छलफल गर्ने भएको छ। त्यस्तै, आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलसँग पनि छलफल गर्न लागेको छ। संसद्मा प्रतिनिधित्व गर्ने ६ दलसँग आउँदो मंसिर ४ गते बैठक राखेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले बताए।
स्थानीय तहको जनप्रतिनिधिको समय सकिनु दुई महिनाअघि नै निर्वाचन सक्नुपर्ने कानुनी व्यवस्था छ। त्यसैले आयोगले चैतको पहिलो साताभित्र निर्वाचन गर्नेगरी सम्भावित मितिबारे सरकारलाई जानकारी गराएको छ।






प्रतिक्रिया दिनुहोस्