राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनमा प्यानल बनाउन नेताहरू सक्रिय भएका छन् ।
दोस्रो पटकका लागि अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्न छुट्टै प्यानल बनाउन तीन शीर्ष नेताले क्रियाशिलता बढाएका हुन् ।
संस्थापन इतरका एक नेताका अनुसार दुई पूर्वअध्यक्ष कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थनमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अध्यक्ष पदमा लिङ्देनलाई चुनौती दिन लागेका हुन् ।
आठौं महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यले तीन नेताहरू देश दौडाहामा निस्केका छन् । ‘पार्टी संगठन सुदृढीकरण’ अभियान लिएर थापा, डा. लोहनी र पाण्डेले कोशी र मधेशका जिल्लामा कार्यक्रम राखेर कार्यकर्ताका विचार सुन्नुका साथै आफ्नो दृष्टिकोण राखेका छन् ।
शीर्ष तहका तीन नेताले झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, बारा लगायतका जिल्लामा भेटघाट कार्यक्रम राखेका थिए । ‘राप्रपा फेरि उठाउँछौ, उठाउनै पर्छ’ भन्ने नारासहित उनीहरू जिल्ला भ्रमणमा छन् । पार्टी सुदृढीकरणका लागि गरिएका जिल्लाका कार्यक्रममा पार्टी केन्द्रबाट भने स्वीकृति लिइएको छैन ।
सातौं महाधिवेशनपछि अध्यक्ष लिङ्देनको कार्यशैलीविरुद्ध प्रश्न उठाएर निरन्तर आलोचना गर्ने नेतामा तत्कालीन महामन्त्री डा. धवलशमशेर राणा थिए । धवलशमशेरको कित्तामा लोहनी र पाण्डे पनि थिए । संस्थापनविरुद्ध एकै ठाउँमा रहेका नेताहरूमध्ये धवलशमशेरले पार्टी परित्याग गरे । लोहनी र पाण्डे भने पार्टीभित्रै रहेर फरक कित्तामा उभिइरहेका छन् ।
महाधिवेशनको मिति सार्नु, नेता-कार्यकर्तालाई कारबाही गर्नु, राजसंस्थाको एजेन्डालाई कुन रूपमा अघि बढाउनेलगायत अध्यक्ष लिङ्देनको शैलीका कारण पार्टीभित्र मतभिन्नता हुँदै आएको छ ।
लिङ्देनको खरो विरोध गर्नेमध्येका एक धवलशमशेरले नयाँ दल गठन गरे । लिङ्देनले कारबाही गरेका नेता-कार्यकर्तामध्ये अधिकांश धवलशमशेरकै पक्षमा देखिएका छन् । एउटा कित्ताको नेतृत्व गरिरहेका धवलले पार्टी परित्याग गरेपछि उक्त समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गर्न पाण्डेलाई बाटो झन् खुलेको छ । राजसंस्था पुनर्बहालीको आन्दोलनमा धवलशमशेरसँगै रहेका पाण्डे उनी सरह अघि भने सरेनन् ।
पार्टीको निर्देशक समितिबाट राजीनामा दिएका डा. लोहनी र अघिल्लो पटक लिङ्देनसँग अध्यक्षमा पराजित कमल थापाको साथ लिएर भावी नेतृत्वका लागि कार्यकर्ताकहाँ पाण्डे पुग्न थालेका छन् ।
महाधिवेशन केन्द्रित कार्यकर्ता भेटघाटमा पाण्डेले अध्यक्ष लिङ्देनको शैली र क्षमतामाथि प्रश्न उठाएका छन् । पार्टी पुनर्ताजगीका लागि कार्यकर्ता माझ आएको उनले बतए । आसन्न महाधिवेशनबाट राप्रपा पुनर्ताजगी गर्नका लागि क्षमतावान नेतृत्वलाई चयन गर्न पाण्डेले आग्रह गरे ।
२०६२/०६३ मा राप्रपाको मुद्दा समाप्त भइसकेको अवस्थामा पनि तत्कालीन अध्यक्ष कमल थापाले मेची-महाकाली यात्रा गरेर पार्टीको मुद्दा स्थापित गरेको दाबी गर्दै पाण्डेले भने, ‘तर हाम्रो मुद्दा टिकाएर राख्न सक्ने काम हुन सकेन । अझै पनि ढिलो भएको छैन ।’
२०७८ मा लिङेदनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका थापा गत पुसमा राप्रपामै फर्किएका थिए ।
थापा, लोहनी र पाण्डेको सक्रियतामा भइरहेको देश दौडाहामा अध्यक्ष लिङ्देनले पार्टी एकलौटी ढंगले चलाएको आरोप लगाइएको छ । लिङ्देनलाई जनताकहाँ जाने अभियान सुरु गरौं भनी प्रस्ताव गर्दा अस्वीकार गरेकोले पार्टीको दुर्दशा भएको वरिष्ठ उपाध्यक्ष पाण्डेले आरोप लगाए ।






प्रतिक्रिया दिनुहोस्