आस्था, विश्वास र प्रकृति पूजाको अनुपम संगम छठ व्रतको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यका अगाडि नतमस्तक हुन व्रतालु र श्रद्धालुहरूले सबै तयारी पूजा गरेका छन्।
घरघरमा ठेकुवा, भुसुवा, पिरिकिया, खाजा–मिठाइ, लड्डु, खजुरिया पाकिसकेको छ। नरिवल, केरा, कागती, उखु, सुन्तला सहितका थरिथरीका फलहरूले सजिएको अर्घ अस्ताउँदो सूर्यलाई अर्पण गर्न छठ घाटमा सजिएका छन्। एउटा उखान छ, ‘दुनियाँले उदाउँदो सूर्यलाई मात्रै सलाम गर्छ।’ यसको अर्थ हुन्छ कि सूर्य अस्ताउनु कमजोरीको निशानी हो।
तर, छठ पर्वले अस्ताउँदो सूर्यलाई पहिला नमन गर्न सिकाउँछ र सन्देश दिन्छ– सूर्य अस्त भएपछि मात्रै उदय हुन्छ। यसको अर्को मान्यता के पनि छ भने सूर्य देवता हुन् र दिशा परिवर्तन हुँदैमा भगवानप्रतिको भाव परिवर्तन हुँदैन। सूर्य सृष्टि र जीवनको प्रतीक भएकै कारण उनको पूजा गरिन्छ।घरपरिवारमा शान्ति, समृद्धि र प्रगतिको कामनासहित मनाइने यो पर्वमा व्रतालु मात्रै आफ्नो लागि नभई आफ्नो सन्तान, कुल, परिवार, इष्टमित्र सबैको भलाईको कामना गर्छन्।
अहिंसाप्रति मानव रुचि बढाउने र सबै जीवहरूपप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको यो महापर्वमा जातीय समानता र एकतालाई पनि निकै बलियो गरी प्रस्तुत गरिन्छ।
पर्वका लागि चाहिने बाँसका सामग्रीहरू डाला, सुपली, चँगेरा, कोनियालगायत दलित समुदायका डोम जातिले बनाउने गर्छन् भने कुम्हार समुदायले बनाउने माटोको हात्ती, दीप, कोशिया, कुरबार पूजामा महत्वका साथ प्रयोग गरिन्छ। माली समुदायबाट फूलमालाहरू ल्याउने गरिन्छ भने छठको नहायखायका दिन हजाम समुदायबाट महिलाहरूले घरघरमा गएर व्रतालुहरूको नङ काट्ने र खुट्टामा रातो अल्ता (पैररंगा) लगाएपछि मात्रै व्रतको विधिवत् आरम्भ हुन्छ। समाजमा जातीय विभेद र धार्मिकताका कारण दंगाफसाद हुने गरे पनि छठ पर्वले सबै धर्मप्रति समान आस्था र जातीय एकताको सन्देश दिने गरेको सामाजिक अभियन्ता दिनेश पूर्वे बताउँछन्।
छठ माता को हुन् भन्ने विषयमा थुप्रै अवधारणा छन्। धार्मिक पुराणहरूमा दसैंका बेला पूजा हुने माता कात्यायनीलाई नै छठी माता भनिएको छ। सनातन धर्ममा उनलाई ब्रह्माकी मानसपुत्री मानिएको छ। छठ पूजा कहिलेबाट सुरु भयो भन्नेबारे यकिन अभिलेख पाउन गाह्रो भए पनि यसको मान्यता के छ भने महाभारतकालमा द्रौपदीले यो व्रत गरेकी थिइन्। सूर्यका छोरा अंगराज कर्णले पनि यो व्रत गर्दै आएका थिए।






प्रतिक्रिया दिनुहोस्