कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको हो ।
अधिवेशनको उद्घाटन मंसिर ५ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटन समारोहलाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । अधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रिया भने मंसिर ६ गते पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन गरिनेछ ।
गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अधिवेशन मूल समारोह समिति संयोजक मेखलाल श्रेष्ठले जानकारी दिए ।
३६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ प्रदेश प्रतिनिधि र १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यसबाहेक ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, गण्डकीका ८५ वटै स्थानीय तहका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० जना प्रदेश प्रतिनिधि पनि अधिवेशनमा सहभागी हुनेछन् ।
विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ । कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा गीता गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको नेता गुरु बरालले जानकारी दिए ।
बाँकी जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि नै सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्