एनपिएलमा आज दुई खेल हुँदै : पेचिलो बन्दै प्लेअफको समीकरण
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछन्।
लिग चरणका अन्तिम खेलहरू भइरहँदा प्लेअफको समीकरण निकै पेचिलो बन्दै गएको छ। आजको पहिलो खेल दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यी दुवै टोली प्लेअफमा स्थान सुरक्षित गर्न जितको खोजीमा मैदान उत्रनेछन्।
काठमाडौँ पाँच खेलमा चार जित र एक हारसहित ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै, लिग चरणको अन्तिम खेल खेल्न लागेको सुदूरपश्चिम रोयल्सको पनि ६ खेलमा चार जित र दुई हारसहित समान ८ अंक छ।
आजको खेलमा विजयी हुने टोलीले सोझै प्लेअफमा स्थान बनाउनेछ। विशेषगरी सुदूरपश्चिमका लागि यो लिग चरणको अन्तिम खेल भएकाले ऊ जित्नैपर्ने दबाबमा हुनेछ। उता, पहिलो खेलमा हार बेहोरेपछि लगातार चार जित दर्ता गरेको काठमाडौँ भने एक खेल अगावै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ।
त्यस्तै आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन्। जनकपुरका लागि लिग चरणको यो अन्तिम खेल हो। ६ खेलमा दुई जित र चार हारसहित ४ अंक जोडेको जनकपुर तालिकाको छैटौँ स्थानमा छ। चितवन भने पाँच खेलमा दुई जित, दुई हार र वर्षाका कारण एक खेलमा अंक बाँड्दै ५ अंक का साथ पाँचौँ स्थानमा छ। आज चितवनलाई पराजित गरेको खण्डमा जनकपुरको ६ अंक पुग्नेछ।
जनकपुरले आजको खेलमा जित निकाले पनि जनकपुरको प्लेअफ पुग्ने सम्भावना भने एकदमै झिनो रहेको छ। प्लेअफमा स्थान बनाउन जनकपुरले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ। उता, विराटनगर किङ्सले ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक बनाएको छ।
चितवनले आजको खेलमा जनकपुर बोल्ट्सलाई हराउन सके, चितवनको खातामा ७ अंक हुनेछ। चितवनसँग यो खेलपछि पनि एक खेल बाँकी रहनेछ। त्यसैले जनकपुरको लागि यो अत्यावश्यक खेल हो यसमा जनकपुर जित निकाल्न चाहन्छ।
त्यस्तै, आज जनकपुरलाई पराजित गरेमा चितवनले प्लेअफ समीकरणमा आफ्नो बलियो दाबेदारी पेस गर्नेछ। चितवनले लिग चरणको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। बाँकी रहेका दुवै खेल जित्दै प्लेअफमा स्थान बनाउने दाउमा चितवन आज मैदानमा उत्रनेछ।
बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ।






प्रतिक्रिया दिनुहोस्