११ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद

रौतहटको गौरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा एक कारोबारीको घरमा छापा मार्दा ११ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरेका हुन्।
विशेष सूचनाका आधारमा बिहीबार राति करिब ११ बजे गौर नगरपालिका–१ स्थित मनोज साह (छोट्का) को घरमा सुरक्षाकर्मीले छापा मारेका थिए । छापाका क्रममा भन्सार छली गरी भित्रर्याइएको आशंका गरिएको ठूलो परिमाणको कपडा बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटरका एसपीको विशेष निर्देशनमा सशस्त्र प्रहरी बल नेपाल गौर गुल्मका डीएसपी दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपक यादवको संयुक्त कमाण्डमा खटिएको सुरक्षाकर्मीको टोलीले उक्त सामान बरामद गरेको स्रोतले जनाएका छन्।
प्रारम्भिक जानकारीअनुसार बरामद कपडाको मूल्य ११ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
बरामद सामानको परिमाण, राजस्व सम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी स्रोतले बताएका छन् ।
चाडपर्वको मौका छोपेर सीमावर्ती क्षेत्रबाट अवैध रूपमा सामान भित्रर्याई राजस्व छली गर्ने गतिविधि माथि निगरानी बढाउने क्रममा उक्त कारबाही गरिएको बताइएको छ ।
गौरसहित रौतहटका सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छली तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएको स्रोत ले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here