बाहिरी चक्रपथको अन्योलले खोकनाबाट चोभार सर्ने भयो काठमाडौं–तराई द्रुतमार्गको शून्य विन्दु
काठमाडौं र मधेशको दूरी छोट्याउन निर्माण भइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गको शून्य विन्दु (प्रस्थान स्थान) काठमाडौंको चोभार कायम हुने भएको छ।
बाराको निजगढ र ललितपुरको खोकना शून्य विन्दु कायम राख्ने गरी द्रुतमार्गको डिजाइन तथा निर्माण सुरु भएको थियो। यसअनुसार निजगढमा पूर्व–पश्चिम राजमार्ग र खोकनामा बाहिरी चक्रपथमा जोड्ने योजना थियो।
तर काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ बन्ने वा नबन्ने निश्चित नहुँदा शून्य विन्दु खोकनाको सट्टा चोभार राख्ने गरी छलफल भइरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ।
‘बाहिरी चक्रपथमा जोड्ने योजनाअनुसार सुरु भए पनि बाहिरी चक्रपथको टुंगो छैन। यस्तोमा द्रुतमार्ग खोकनासम्म मात्र बनाउँदा यसको उपयोगिता हुँदैन’, आयोगका सदस्य अर्जुनजंग थापाले नेपालखबरसँग भने, ‘द्रुतमार्गलाई फराकिलो सडकसम्म जोड्नुपर्ने हुन्छ। यस्तोमा चोभार सुख्खा बन्दरगाह आसपास लैजान सकिए सहज रुपमा सवारी सञ्चालन गर्न सकिन्छ।’
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको दूरी ७०.९९ किलोमिटर छ। द्रुतमार्ग भएकाले यहाँ तीव्रगतिमा सवारी गुड्नेछन्। यो सडक निर्माण भएसँगै काठमाडौँ–तराईको दूरी एक घण्टामा छोटिनेछ।
तर द्रुतमार्ग खोकनासम्म मात्र बन्दा फराकिलो सडकको अभावमा उपत्यकाबाट तराई जाने सवारीसाधनलाई खोकनासम्म पुग्न काठमाडौँबाट तराई पुग्नभन्दा धेरै समय लाग्छ। साथै साना सडकमा मालवाहक र यात्रुवाहक सवारीको चाप बढ्दा जामको पनि जोखिम उच्च छ। यस्तोमा द्रुतमार्गको प्रवेश विन्दु चोभार बनाउँदा मालवाहक सवारीसाधन चोभारस्थित सुख्खा बन्दरगाहमा जाँचपास गर्न पनि सहज हुन्छ।
नेपाली सेनाले द्रुतमार्गलाई ११ वटा प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइरहेको छ। प्याकेज ११ अन्तर्गत पर्ने साढे ६ किलोमिटर खण्ड डुकुछाप–फर्सिडोल–खोकना खण्ड जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण ठेक्का प्रक्रिया अघि बढ्नसकेको छैन। जसका कारण सेनाले सो विवादित खण्डलाई थाती राखेर बाँकी १० वटा प्याकेजमा काम गरिरहेको छ।
खोकना खण्डको विवाद सुझाउन हाल सरकारले स्थानीयसँग छलफल रहेको छ। तिहारसम्म स्थानीयले उठाउँदै आएको जायज माग सम्बोधन गरेर खोकना खण्डको विवाद समाधान गरेर अघि बढ्ने योजना छ। द्रुतमार्गको रेखांकन खोकनाको सिकाली मन्दिर भएर अघि बढ्ने भएकाले स्थानीयले आफ्नो धार्मिक, सांस्कृतिक तथा सम्पदा मासिने भन्दै रेखांकन परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन्।
उनीहरुले बागमती नदी किनारतर्फबाट सडक विस्तार गर्न माग राख्दै आएका छन्। खोकना खण्डको विवाद सुल्झिएपछि खोकनाबाट चोभार जोड्ने गरी द्रुतमार्गको नयाँ डिजाइन टुंगो लगाउने योजना छ।
२०७४ वैशाख २१ गते सरकारले ४ वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी द्रुतमार्ग सडक निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई सुम्पेको थियो।
२०८३ भदौ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७२ प्रतिशत हासिल भएको सेनाले जानकारी दिएको छ।
द्रुतमार्ग निर्माण गर्नु पर्ने पछिल्लो म्याद २०८३ चैतसम्म थियो। उक्त समयमा निर्माण सम्पन्न नहुने देखिएपछि गत साउन २० गतेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप तीन वर्ष अर्थात् २०८६ चैतसम्म पुर्याइएको छ।
नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त कानुनसम्मत जिम्मेवारीहरु कुशलतापूर्वक र दिएको समयसीमाभित्र पूरा गर्न प्रतिबद्ध रहेको बताए।
द्रुतमार्गमा ११.२ किलोमिटर लम्बाइको ७ वटा सुरुङमार्ग निर्माण भइरहेको छ। जसमा धेद्रे र लेनडाँडा सुरुङ ब्रेक थ्रु भइसकेको छ भने महादेवटार सुरुङको बायाँतर्फ ‘ब्रेक थ्रु’ हुँदा दायाँतर्फ पनि ‘ब्रेक थ्रु’को अन्तिम चरणमा छ। देवीचौर, सिसौटार, चन्द्रमा भीर र मौरी भीर सुरुङमार्गमा काम भइरहेको छ।
आयोजनाका लागि ८९ स्थानमा पुल निर्माण हुनेछ। तीमध्ये ८५ पुलको खरिद सम्झौता भई निर्माणको चरणमा छ। निर्माणाधीन अधिकांश पुलहरुको फाउन्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको कार्य भइरहेको छ। जसमा ५७ पुलको फाउन्डेसन, ३८ पुलको सबस्ट्रक्चर र १६ पुलको सुपरस्ट्रक्चरको काम सम्पन्न भएको सेनाले जानकारी दिएको छ।






प्रतिक्रिया दिनुहोस्