नेपाली ब्रान्ड प्रवद्र्धन, अर्थतन्त्रलाई सहयोग
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)ले स्वदेशी ब्रान्ड प्रवद्र्धनमात्र गरेको छैन, अर्थतन्त्रलाई पनि बलियो भर दिएको छ।प्रतियोगिता तेस्रो संस्करणसम्म आइपुग्दा एक सिजनमा करिब डेढ अर्ब रुपैयाँको कारोबार हुने प्रक्षेपणले पर्यटन, रोजगारी, ब्रान्ड प्रवद्र्धन र लगानी विस्तारको सम्भावना देखाएको छ। तर, बजारमा पैसा घुमाउनु र मुलुकको उत्पादन क्षमता बढाउनु एउटै कुरा नरहेको विज्ञहरू बताउँछन्।
युवा अर्थशास्त्री निशान्त खनाल एनपीएलले विशेषगरी स्थानीय ब्रान्ड प्रवद्र्धन, पर्यटन र बजारमा नगद प्रवाह बढाउन सकारात्मक भूमिका खेलेको बताउँछन्। उनका अनुसार पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणदेखि यसको आर्थिक प्रभाव केही देखिन थालेको छ। नेपाली उत्पादन, स्थानीय संस्था तथा व्यावसायिक ब्रान्डलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर एनपीएलले प्रदान गरेको उनको विश्लेषण छ। ‘एनपीएलले नेपालको स्थानीय ब्रान्ड निर्माणमा सहयोग गरेको छ। नेपाली उत्पादन र स्थानीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने अवसर मिलेको छ,’ खनाल भन्छन्, ‘डेढ अर्ब रुपैयाँसम्मको कारोबार अर्थतन्त्रमा प्रवेश गर्दा बजारमा नगदको प्रवाह बढ्छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन केही न केही योगदान गर्छ।’
एनपीएलले अर्थतन्त्रमा कति मूल्य अभिवृद्धि गर्यो, कति रोजगारी सिर्जना भयो र सरकारी राजस्वमा कति योगदान पुग्यो भन्ने विषयमा स्वतन्त्र अध्ययन आवश्यक छ। अर्थशास्त्रीहरूका अनुसार एनपीएलले तत्कालका लागि मनोरञ्जन, खेलकुद र सेवामूलक क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग गरे पनि यसलाई समग्र अर्थतन्त्रको बलियो आधार मान्न उत्पादन र पुँजी निर्माणसँग जोड्नुपर्छ।






प्रतिक्रिया दिनुहोस्