पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ । सुरक्षा कमजोरी सार्वजनिक भएसँगै क्लाउड सेवा प्रदायकहरूले लाखौँ ह्याकिङ प्रयास देखिएको बताएका छन् । यसपछि विभिन्न देशका सरकार र कम्पनीहरू सुरक्षा अपडेट गर्न तथा जोखिम कम गर्न सक्रिय भएका छन् ।
रोयटर्सका अनुसार बुधबार युरोपसहित विभिन्न क्षेत्रका सरकारी निकायले सावधानीस्वरूप वेबसाइट तथा अनलाइन सेवा बन्द गरेका थिए । जापानदेखि फिनल्यान्डसम्म बैंकिङ, विमान सेवा, रेल, कर प्रशासन र सरकारी सेवामा अस्थायी अवरोध गरिएको थियो ।
क्लाउडफ्लेयरका प्रमुख कार्यकारी म्याथ्यु प्रिन्सले सुरक्षा कमजोरी सार्वजनिक हुनुअघि नै आफ्नो नेटवर्कमा हजारौँ आक्रमण प्रयास देखिएको बताएका छन् । उनका अनुसार कमजोरी सार्वजनिक भएको ४५ मिनेटभित्रै यस्तो प्रयासको संख्या दशौँ हजार पुगेको थियो । दुई घण्टाभित्र लाखौँ र त्यसपछि लाखौँभन्दा बढी प्रयास रेकर्ड भएका थिए । अमेजनले पनि व्यापक रूपमा सुरक्षा कमजोरीको दुरुपयोग गर्ने प्रयास भएको जनाएको छ ।
पीएचपी विकासकर्ताहरूले बुधबार नै कमजोरी समाधान गर्ने नयाँ संस्करण सार्वजनिक गर्दै प्रयोगकर्तालाई तत्काल अपडेट गर्न आग्रह गरेका थिए । एआईको प्रयोगबाट वर्षौँदेखि सफ्टवेयरमा रहेका कमजोरी पत्ता लागेको समाचारमा उल्लेख छ ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलाले जर्मनीमा आयोजित एक कार्यक्रममा यस्तो घटना लामो समयदेखि नदेखेको बताए । उनले जटिल बन्दै गएका सफ्टवेयर प्रणालीलाई सुरक्षित रूपमा सञ्चालन र अद्यावधिक गर्न सकिने गरी विकास गर्नु आवश्यक रहेको बताए ।
जापानमा नोमुरा, मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुप, एएनए विमान सेवा र इस्ट जापान रेलवेले केही अनलाइन सेवा अस्थायी रूपमा रोकेका थिए । जापानको अर्थ मन्त्रालय, मौसम विज्ञान निकाय र राष्ट्रिय कर एजेन्सीले पनि सुरक्षा उपायस्वरूप केही अनलाइन सेवा बन्द गरेका थिए ।
फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्जले आफ्ना केही सहायक कम्पनीअन्तर्गतका पीएचपीमा आधारित वेबसाइट र एप्लिकेसनमा पहुँच अस्थायी रूपमा रोकेको थियो । फिनल्यान्डको सरकारी सूचना प्रविधि सेवा प्रदायक भाल्टोरीले सुरक्षा अपडेट लागू गरेपछि सरकारी अनलाइन सेवा क्रमशः पुनः सञ्चालन गर्ने जनाएको छ । सेवा पूर्ण रूपमा सञ्चालनमा आउन केही दिनदेखि केही हप्तासम्म लाग्न सक्ने उसको भनाइ छ ।
चीनको उद्योग मन्त्रालयले पनि सरकारी निकाय, संस्था र प्रयोगकर्तालाई आफ्ना प्रणाली जाँच गर्न तथा पीएचपीको सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको छ । दक्षिण कोरियाले निजी क्षेत्रको साइबर सुरक्षा सतर्कता स्तर बढाउँदै आपत्कालीन प्रतिकार्यका उपाय सक्रिय गरेको छ ।
साइबर सुरक्षा विज्ञहरूका अनुसार नयाँ संस्करणमा अपडेट गर्न सजिलो भएका प्रणालीमा जोखिम छिटो कम गर्न सकिन्छ । तर पुरानो पीएचपी संस्करणमा चलिरहेका वेबसाइट, जटिल सूचना प्रविधि प्रणाली र सीमित प्राविधिक स्रोत भएका संस्थालाई सुरक्षा सुधार गर्न बढी समय लाग्न सक्छ । कतिपय पुराना संस्करणमा सुरक्षा अपडेट उपलब्ध नभएकाले सम्पूर्ण प्रणाली नै अद्यावधिक गर्नुपर्ने अवस्था आउन सक्छ ।
फिनल्यान्डका अधिकारीहरूले भने आफ्ना अनलाइन सेवा बन्द गर्नुपर्नुको कारण सुरक्षा जोखिमप्रतिको सावधानी भएको र उक्त कमजोरीको दुरुपयोगबाट सेवा अवरुद्ध भएको प्रमाण नभेटिएको बताएका छन् । विश्वभरका निकायले सुरक्षा कमजोरीको वास्तविक प्रभाव र सम्भावित क्षतिको मूल्यांकन गरिरहेका छन् ।






प्रतिक्रिया दिनुहोस्