पिलरवाला पुलको डिजाइन ‘फेल’, अब कस्ता बन्छन् मोटरेबल पुल ?

काठमाडौँ  । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षणभरमै ३७ वटा पुलसँगै राज्यको अर्बौं लगानीमात्रै बगेन, खोलाको बिचमा पिलर राखेर पुल बनाउने हाम्रो पुरानो इन्जिनियरिङ शैलीलाई नै फेल गराइदियो । यही विपद्ले नेपालमा कस्ता पुल चलनमा छन् र अब कस्ता बनाउनुपर्छ भन्ने गम्भीर बहस सुरु गराइदिएको छ ।

भोटेकोशीको यो विपद् सिमेन्ट र फलामको संरचना भत्किएको सामान्य घटनामात्र होइन । यस विपद्ले खोलाको बिचमा पिलर राखेर पुल बनाउने परम्परागत शैली अब नेपालमा काम लाग्दैन भन्ने प्रस्ट सन्देश दिएको छ ।

frontline

यो विपद्पछि पुल निर्माणको पुरानो मापदण्डको पाना च्यातेर जलवायु अनुकूलन प्रविधिको नयाँ अध्याय सुरु गर्नुको विकल्प नरहेको विज्ञहरूको सुझाव छ । समयमै पिलररहित, लामो स्पान र गेग्रानको भार थेग्ने प्रविधिलाई राष्ट्रिय मापदण्ड नबनाए हरेक मनसुनमो अर्बौंको विकास बजेट यसैगरी खोलामा मिसिने निश्चित रहेको विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

यससँगै अहिले सरकार र इन्जिनियरहरू खोलाको बिचमा पिलर नै नराख्ने र बाढी–पहिरो खप्न सक्ने नयाँ प्रविधिका पुल बनाउने तयारीमा जुटेका छन् । यस्तो बेला आम मानिसको मनमा एउटा प्रश्न उब्जिएको छ— नेपालमा अहिले कस्ता पुल सञ्चालनमा छन् र अबका दिनमा कस्ता पुल बनाउनु पर्छ ?

कति छन् देशभर मोटरेबल पुल ?

नेपालको पहाडी र भिरालो जमिन अनि धेरै खोलानाला भएको अवस्थामा सरकारले सडक र पुल बनाउन ठुलो लगानी गर्दै आएको छ । नेपाल सरकारको सडक विभागको तथ्याङ् अनुसार अहिले देशभर ३ हजार ४३० भन्दा बढी पक्की मोटरेबल पुल सञ्चालनमा छन् ।

सडक विभागको पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार हाल देशभर करिब ३ हजार ५ सयको हाराहारीमा पुल सञ्चालनमा छन् । ‘रणनीतिक सडक सञ्जाल (एसआरएन) र स्थानीय सडक मिलेर देशभर करिब ३५०० पुल छन् । राष्ट्रिय राजमार्गहरूमा मात्रै २१०० भन्दा बढी पुल छन् । चालु आर्थिक वर्षमा सम्पन्न भएका नयाँ पुलको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको छ,’ महाशाखा प्रमुख खनालले भने ।

सरकारले देशभर जम्मा ३ हजार ५६९ वटा यस्ता पुल बनाउने लक्ष्य राखेको छ । तीमध्ये कतिपय निर्माणका चरणमा छन् ।

motorable-pul_pmr8hgOgSu

यिनै पुलले गर्दा पूर्वदेखि पश्चिमसम्म गाडीहरू बाह्रै महिना चल्न पाएका छन् । यसैगरी, प्रदेश सरकारअन्तर्गतका सडकहरूमा करिब ४३५ वटा र गाउँ–नगर जोड्ने स्थानीय सडकहरूमा ४०२ वटा पक्की पुल बनेका छन् । संख्याको हिसाबले हेर्दा नेपालले पुल निर्माणमा धेरै ठुलो फड्को मारेको छ, तर पछिल्ला बाढीहरूले यिनै पुलहरूको स्थायित्वमाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएका छन् ।

अधिकांश पुल आरसीसी बीम तथा गर्डर

नेपालको भौगोलिक जटिलता, नदीको चौडाइ, माटोको भारवहन क्षमता र यातायातको घनत्वलाई ध्यानमा राखेर हालसम्म विभिन्न प्रविधि र इन्जिनियरिङ ढाँचाका मोटरेबल पुल निर्माण गरिँदै आइएको छ । निर्माण सामग्री र प्रविधिका आधारमा हेर्दा नेपालमा सबैभन्दा धेरै संख्यामा आरसीसी बीम तथा गर्डर पुल बनेका छन् । सिमेन्ट, बालुवा, गिट्टी र फलामे डन्डीको प्रयोग गरी कङ्क्रिटको बीम र ठुला पिलरमाथि ढलान गरेर बनाइने यो प्रविधि विशेषगरी साना र मझौला खोलाहरूमा व्यापक छ ।

त्यसैगरी, आधुनिक प्रविधिबाट डन्डी र कंक्रिटलाई पहिले नै उच्च तनाव दिएर बलियो बनाइने प्रिस्ट्रेस्ड कङ्क्रिट पुलको प्रयोग पनि धेरै छ । लामा र भारी लोड धान्ने पुलहरूमा यो प्रविधि प्रयोग हुन्छ । नेपालका राजमार्गहरूमा ५० मिटर स्पानका अधिकांश पुल यसै प्रविधिबाट बनेका छन्, जुन यसपटकको बाढीमा सबैभन्दा धेरै भत्किए ।

नदीको चौडाइ बढी भएको र पानीको तीव्र बहावका कारण बिचमा पिलर राख्न कठिन हुने ठाउँहरूमा स्टिल ट्रस पुल निर्माण गरिँदै आएको छ । फलामका कोण र त्रिकोणात्मक फ्रेमहरू जोडेर बनाइने यो पुलको उत्कृष्ट उदाहरण पृथ्वी राजमार्गस्थित मुग्लिनको पुरानो पुल हो । यसबाहेक पुलको भारलाई गोलो घुमाउरो आकृतिमार्फत किनारको खम्बामा सार्ने आर्च ब्रिज प्रविधि पनि निकै सफल देखिएको छ । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको मालढुंगा आर्च पुल नेपालको सफल इन्जिनियरिङको नमुना हो ।

पछिल्लो समय नेपाल परम्परागत ढलान प्रविधिबाट माथि उठेर अत्याधुनिक र विशिष्ट प्रकारका पुल निर्माणतर्फ पनि अग्रसर भएको छ । पश्चिम नेपालको कर्णाली नदीमाथि चिसापानीमा बनेको प्रसिद्ध ‘केबल स्टेड पुल’ यस प्रविधिको ऐतिहासिक कोसेढुंगा हो, जहाँ अग्लो पिलरबाट स्टिलका बलिया केबलहरू तानेर सडकको सतह अड्याइएको छ । हाल मुग्लिन, आँबुखैरेनी र भेरी नदीमा पनि यस्ता पुलहरू बनिरहेका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यकाको बिजुलीबजार र शोभाभगवतीमा बनेका नेटवर्क आर्च पुलले नदीको बिचमा कुनै पिलर नराखी दुवै किनारको बलियो जगमा आर्च र क्रस–तारको मद्दतले पुल अड्याउने नयाँ प्रविधि भित्रिएको छ । विपद्का बेला तत्काल यातायात खुलाउन नेपाली सेना वा सडक विभागले फलामे पाता जोडेर छिटो तयार गर्ने बेली ब्रिज र साना खोल्साहरूमा पानी निकासका लागि सडकमुनि बनाइने बक्स कलभर्ट पनि हाम्रो सडक सञ्जालका अभिन्न हिस्सा हुन् ।

‘नेपाल पुल मापदण्ड–२०६७’ किन बन्यो कागजी ?

देशभर निर्माण हुने पुलहरूमा एकरूपता र गुणस्तर कायम गर्न सडक विभागले २०६७ सालमा ‘नेपाल पुल मापदण्ड–२०६७’ जारी गरेको थियो । यस मापदण्डले पक्की पुलहरूको न्यूनतम डिजाइन आयु ५० वर्ष तोकेको थियो भने आगामी ३० वर्षको सम्भावित सवारी चाप र १०० वर्षको अधिकतम बाढीलाई धान्न सक्ने गरी डिजाइन गर्नुपर्ने कडा व्यवस्था गरेको थियो ।

साथै, नदीको उच्च बाढी सतहबाट पुलको तल्लो भागसम्म न्यूनतम १ देखि २ मिटर फ्री–बोर्ड (खाली ठाउँ) छाड्नुपर्ने प्रावधान थियो । विभागको प्राविधिक निर्देशिकाले जग निर्माणअघि बोरिङ, माटो परीक्षण, चट्टानमा ३ मिटर कोर ड्रिलिङदेखि पाइल र वेल फाउन्डेसनको कडा परीक्षणसम्मका सर्तहरू राखेको थियो ।

05-gorkha-aarughat-bridge-after-flood_npl-05_dgsRj6tR2x.webp

तर, भोटेकोशी लगायत देशका विभिन्न नदीमा उर्लिएको बाढीले यी सबै प्राविधिक मापदण्डलाई ‘कागजी बाघ’मात्र साबित गरिदियो । अधिकांश पुल पानीको बहावलाई मात्र हिसाब गरेर डिजाइन गरिएका थिए, लेदो र ढुंगासहितको गेग्रान (डेब्रिज) को धक्कालाई होइन । खोलाको बिचमा ठड्याइएका पिलरहरूमा बाढीले बगाएर ल्याएका ढुंगा–मुढा अड्किएर प्राकृतिक बाँधजस्तै बन्यो । पानी थुनिएपछि उत्पन्न अत्यधिक जल–दबाबका कारण पुलका स्ल्याबहरू हुत्तिएर बगे । एउटा पुल भत्किएर तलको अर्को पुलमा ठोक्किँदा शृङ्खलावद्ध विनाश निम्तियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here