वैज्ञानिक डा. सञ्जीवन : ब्राजिल पुगेपछि नेपाल सम्झिए, अमेरिकाबाट आएर देशमै क्यान्सरको औषधि बनाए
त्यतिबेला उनी अमेरिकामा बसेर कार टी सेलको अनुसन्धानमा व्यस्त थिए। ‘कार टी सेल’ रक्त क्यान्सरको एक प्रकारको औषधि हो।
‘क्यान्सरको औषधि ब्राजिलमा बनाउन सम्भव छ कि छैन’, नेपाली वैज्ञानिक डाक्टर सञ्जीवन गौतमलाई ब्राजिलका साथीले सोधे, ‘अनुसन्धान गर्न तिम्रो सहयोग चाहियो।’
यो त्यस्तै ५–६ वर्षअघिको कुरा थियो।
जर्मनीको युनिभर्सिटी अफ फ्राइबर्गबाट इम्युनोलोजीमा विद्यावारिधि गरेका गौतमले उक्त औषधिको अनुसन्धानमा सफलता पाइरहेका थिए।
यही देखेका ती साथीले उनीसँग सहयोग मागे। डा. सञ्जीवन साथीकै आग्रहमा कार टी सेल बनाउने सम्मेलनमा सहभागी हुन ब्राजिल पुगे।
त्यहाँ पुग्दा उनलाई लाग्यो, ‘ओहो यो औषधि त मैले नेपालमा पनि बनाउन सक्छु।’
नेपालमा पनि बनाउन सकियो भने त क्यान्सरका बिरामीलाई बचाउन सकिने सोच आयो।
क्यान्सरका विभिन्न औषधि सफलतापूर्वक बनाएको दक्षता उनमा पनि थियो। त्यसले उनमा नेपालमा पनि प्रयोग गर्ने रुचि जगाइदियो।
अमेरिकाबाहिर पनि औषधि विकास गर्न सके पछि नेपालमा पनि लैजान सकिने सोचे।
त्यसपछि आफूले जानेको सिप नेपालमा सुरु गर्नुपर्छ भनेर उनी सन् २०२२ मा नेपाल आए।
सञ्जीवनले अनुसन्धान गरेको कार टी सेल अहिले त्रिवि शिक्षण अस्पतालमा प्रयोग नै गरिसकिएको छ।
रक्त क्यान्सर भएकी २० वर्षीय एक युवतीको अहिले कार टी सेलबाट उपचार भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्