राजपुर नगरपालिकामा स्वच्छ र भिजनयुक्त नेतृत्वको आह्वान

रौतहट – जनमत पार्टीका युवा नेता तथा पूर्व राजपुर नगर इन्चार्ज शेख फेराज अहमदले राजपुर नगरपालिकाका मतदातालाई आगामी फागुन निर्वाचनमा स्वच्छ, ईमानदार र भिजनयुक्त उम्मेदवारलाई चुन्न आह्वान गरेका छन्।
अहमदका अनुसार जिल्लामा कुनै पनि नेता वा कार्यकर्ताले चुनाव लड्दा मतदाताले व्यक्तिगत सम्बन्धभन्दा जनताको पक्षमा उनी के गर्न सक्नेछन् भन्ने आधारमा निर्णय गर्नुपर्ने समय आएको छ। उनले भने,
“तानाशाही शासनलाई अन्त्य गर्ने बेला यही हो। एकै नेतालाई पटक–पटक जिताउनुभन्दा हरेक चुनावमा नयाँ र सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ।”
अहमदले हालको राजनीतिक संरचनामा पारम्परिक ठूला पार्टीहरू – एमाले, कांग्रेस र माओवादी – ले विकास र सुशासनमा देखाएको असफलतालाई जनताले राम्ररी बुझेको दाबी गरे। उनका अनुसार, यो निर्वाचनमा जेन–जि (Gen Z) को नयाँ आन्दोलनले पुराना दलहरूको वर्चस्वलाई चुनौती दिँदै, भिजन र सेवा भाव बोकेको नयाँ पुस्ताका उम्मेदवारलाई अघि ल्याउनेछ।
उनले थपे कि, रौतहट राजपुर नगरपालिकाको मतदाताले परिवर्तनको स्पष्ट संकेत दिइसकेका छन्, र अबको जिम्मेवारी मतदातामाथि छ कि उनीहरूले आफ्नो भविष्यलाई दीर्घकालीन दृष्टि राखेर निर्णय गर्नेछन्।
अहमदले अन्त्यमा भने,
“स्वच्छ छवि र जनताको पक्षमा स्पष्ट योजना भएका उम्मेदवारलाई भोट दिएर मात्रै क्षेत्रको विकास सम्भव छ। अबको चुनाव परिवर्तनको निर्णायक क्षण हो।”
राजपुर नगरपालिकामा नयाँ पुस्ताको राजनीतिक हस्तक्षेप र स्थानीय शासनमा नयाँ दृष्टिकोणको सुरुवात गर्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया दिनुहोस्