मुस्ताङको घरपझोङ गाउँपालिकाले ७५३ वटै स्थानीय तहका प्रतिनिधि सम्मिलित जलवायु सम्मेलन आयोजना गर्दैछ
नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेको छ । विशेषगरी हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम बढ्दो छ।
यसले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो तथा पानीको मुहान सुक्नेजस्ता गम्भीर सङ्कट निम्त्याइरहेको छ । भदौ १० गते भोटेकोसीमा आएको बाढी त्यसकै एउटा रूप हो ।
यसै सङ्कटबारे सचेतना फैलाउन र मुलुकभरका स्थानीय सरकारबीच साझा धारणा निर्माण गर्न मुस्ताङको घरपझोङ गाउँपालिकाले देशका सबै ७ सय ५३ वटै स्थानीय तहका प्रतिनिधि सम्मिलित ‘जलवायु सम्मेलन’ आयोजना गर्दै छ ।
भदौ अन्तिममा हुने यसै सम्मेलनमा केन्द्रित रहेर घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनसँग पत्रकार प्रकाश ढकालले गरेको कुराकानीको सम्पादित अंश :
- घरपझोङले देशका सबै पालिकालाई बोलाएर जलवायु सम्मेलन गर्दै छ । यसको मुख्य उद्देश्य के हो ?
वास्तवमा यो सम्मेलन हामीले गत वर्षको भदौमै आयोजना गर्न खोजेका थियौँ तर जेनजी आन्दोलनका कारण स्थगित गर्नुपर्यो । जलवायु परिवर्तनको प्रत्यक्ष र सबैभन्दा ठुलो असर हिमाली भेगमा परिरहेको छ । तापमान वृद्धि हुँदा हिमाल पग्लिरहेका छन् । हिमाली बासिन्दाको जीवन र जीविकोपार्जन प्रत्यक्ष रूपमा हिमालसँगै जोडिएको छ । हिउँ नपरे पानी हुँदैन, पानी नभए मुहान सुक्छन् र सिँचाइ तथा खानेपानीको हाहाकार हुन्छ ।
यो सङ्कट मुस्ताङको मात्र होइन, विश्वकै हो । खासगरी नेपालको हिमाली क्षेत्रमा यसको प्रभाव बढी छ । स्थानीय तह नागरिकसँग सबैभन्दा नजिक रहने र प्रत्यक्ष असर भोग्ने सरकार हुन् । त्यसैले ७५३ वटै स्थानीय सरकारको आवाजलाई एउटै थलोमा ल्याएर बुलन्द गर्न र जलवायु अनुकूलनका लागि साझा प्रतिबद्धता तयार गर्न यो सम्मेलन आयोजना गरिएको हो ।
- मुस्ताङ र हिमाली जिल्लाले जलवायु परिवर्तनका कस्ता प्रत्यक्ष असर भोगिरहेका छन् ?
मैले बाल्यकालमा भोगेको मुस्ताङ र अहिलेको मुस्ताङमा आकाश–जमिनको फरक छ । पहिले हिउँदमा धेरै नै हिउँ पर्थ्यो। त्यसले गर्दा कतिपय अवस्थामा घरको ढोका खोल्न र एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नसमेत गाह्रो हुन्थ्यो । अहिले हिउँदमा हिउँ नै पर्न छाड्यो । दुई–दुई वर्षसम्म हिउँ नपरेको अवस्था पनि हामीले भोग्यौँ ।
गत वर्ष हिउँ त पर्यो तर बेमौसममा पर्यो । चैत–वैशाखतिर हिउँ पर्दा पानीको मुहानलाई केही फाइदा भयो होला तर स्याउ फुल्ने बेला परेको हिउँले किसानको फलफूल खेती नै सखाप पारिदियो । मुस्ताङमा तापक्रम बढेका कारण पहिले तरकारी खेती नहुने ठाउँमा अहिले बर्खे तरकारी फल्न थालेको छ । जलवायु परिवर्तनकै कारण पानीका परम्परागत मुहान सुकेर बसाइँसराइको सङ्कटसमेत निम्त्याइरहेको छ । हामीले अस्वाभाविक अवस्था भोगिरहेका छौँ । कागबेनीमा त्यति ठुलो बाढी आयो । अहिले पनि कहिलेकाहीँ खोला थुनिने र बाढी आउने समस्या छ । वास्तवमै हामी चिन्ताजनक अवस्थामा छौँ ।
- हिउँ नपर्दा हिमाली क्षेत्रको माटो र पर्यावरणमा कस्तो असर पर्ने रहेछ ?
हिमाली क्षेत्रको माटो गेग्रान र बालुवायुक्त हुन्छ । पुस–माघको चिसोमा हिउँ पर्दा त्यसले माटोलाई दह्रोसँग बाँधेर राख्छ । घाम लाग्दा पग्लिने र बेलुका चिसोमा फेरि जम्ने हुँदा माटोमा चिस्यान कायम रहन्छ ।
तर, हिउँ नपरेपछि माटोभित्रको चिसो पनि पग्लिन्छ र माटो खुकुलो हुन्छ । चिस्यानको अभावमा माटोले आफ्नो शक्ति गुमाउँछ। त्यसपछि वर्षाको समयमा हल्का पानी पर्दासमेत भीषण लेदोसहितको पहिरो जान्छ । कागबेनीमा आएको बाढी र पहिरोको मुख्य कारण पनि यही हो । हिउँ नपर्दा पहाड खिइँदै गइरहेका छन्, जसले तल्लो तटीय क्षेत्रमा ठुलो जोखिम निम्त्याएको छ ।
- यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कस्तो सन्देश दिन खोजेको छ ? के योजना बनाउनुभएको छ ?
जलवायु परिवर्तनको असर हिमालमा मात्र सीमित रहँदैन । हिमाल पग्लिए पहाडलाई असर गर्छ, पहाडले तराईलाई र अन्ततः यसले तल्लो तटीय देश र समुद्रसम्मै प्रभाव पार्छ । हामीले नगरेको गल्तीको सजाय अहिले भोगिरहेका छौँ । त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा हामीले जलवायुजन्य क्षतिको मुआब्जा पाउनुपर्छ भन्ने हाम्रो बलियो माग हो । तर त्यो आवाज सीधै विश्व समुदायमा हामीले उठाउने होइन ।
हाम्रो आवाजलाई समेटेर एउटा साझा घोषणापत्र जारी गर्नेछौँ । प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जानुअघि नै यो घोषणापत्र उहाँलाई बुझाउने हाम्रो तयारी छ। यसबाट नेपालको तल्लो तहको वास्तविक पीडा विश्व मञ्चमा पुग्न सकोस् भन्ने हाम्रो चाहना हो । हामी घोषणापत्रलाई प्रदेश हुँदै सङ्घमा पठाउँछौँ ।
- जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनका लागि घरपझोङ गाउँपालिका आफैँले चाहिँ के–कस्ता प्रयास गरिरहेको छ ?
हामीले आफ्नो पालिकालाई सकेसम्म वातावरणमैत्री बनाउने प्रयास गरिरहेका छौँ । कार्बन उत्सर्जन कम गर्न साइकल र घोडाको प्रयोगलाई बढावा दिन र्याली आयोजना गर्यौँ । पालिकाका तर्फबाट वातावरण अनुकूलनका लागि विद्युतीय चुलो र इलेक्ट्रिक रिक्सा वितरण गरेका छौँ ।
अहिले फोहोर सङ्कलनका लागि पनि साना इलेक्ट्रिक सवारीसाधनको प्रयोग गर्ने तयारीमा छौँ । वृक्षरोपण र स्याउ खेतीलाई बढावा दिएका छौँ । फोहोरलाई जलाउनुको सट्टा प्लास्टिकजन्य फोहोरलाई प्रशोधन गरी पुनः प्रयोग गर्ने प्रविधिको प्रयोग बढाउँदै छौँ । हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ । स्थानीयलाई सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरेका छौँ ।
- मुस्ताङमा पर्यटकको आगमन निकै बाक्लो छ । बाह्य पर्यटकले गर्ने फोहोरमैला व्यवस्थापन र उनीहरूमा सचेतना फैलाउन पालिकाले के गरिरहेको छ ?
हो, मुस्ताङमा पर्यटकको चाप धेरै छ, जसका कारण फोहोरमैला पनि बढेको छ । यसलाई नियन्त्रण गर्न हामीले फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐन र जरिवानाको व्यवस्था गरेका छौँ । पर्यटक बोक्ने गाडीमा डस्टबिन वितरण गर्ने, ठाउँ–ठाउँमा सचेतनामूलक पम्प्लेट बाँड्ने र काउन्सिलिङ (परामर्श) गर्ने काम भइरहेको छ ।
आफ्नो ठाउँ सफा राख्नु हाम्रो दायित्व हो । त्यसैले पर्यटकलाई पनि वातावरणमैत्री व्यवहार गर्न र जथाभाबी फोहोर नफाल्न विभिन्न माध्यमबाट अनुरोध गरिरहेका छौँ ।
- यो सम्मेलनपछि आउने घोषणापत्र र आगामी नीतिगत सुधारका सम्बन्धमा कस्तो अपेक्षा राख्नुभएको छ ?
सम्मेलनबाट जारी हुने घोषणापत्रमा जलवायु न्यूनीकरण, जलवायुमैत्री पूर्वाधार निर्माण, युवा तथा विद्यार्थीका लागि जलवायु शिक्षा र स्थानीय अनुकूलनका योजना समेटिनेछन् ।
नीतिगत रूपमा, अब बन्ने हरेक विकास योजना जलवायु अनुकूल हुनुपर्छ । बाटो र भौतिक पूर्वाधार निर्माण गर्दा पानी रिचार्ज हुने प्रणालीलाई असर पर्नु हुँदैन । हामीले सङ्घीय सरकारसँग बजेट तर्जुमा गर्दा नै जलवायुसम्बन्धी विशेष बजेट छुट्याउनुपर्छ भन्ने माग राखेका छौँ । यस सम्मेलनले यसबारे ठोस नीति निर्माणमा राज्यलाई सघाउनेछ भन्ने हाम्रो विश्वास छ ।






प्रतिक्रिया दिनुहोस्