रौतहट क्षेत्र नं. २ मा धाँधलीको आरोप: ८ मतदान केन्द्रमा पुनः मतदान गर्न किरण साहको माग

Oplus_131072

एस पि सिंहरौतहट २१ फागुन – रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न मतदान प्रक्रियामा व्यापक धाँधली र अनियमितता भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरण कुमार साहले ८ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेका छन्। साहले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक निवेदन दर्ता गराउँदै धाँधली भएका स्थानको निर्वाचन बदर गरी नयाँ निर्वाचन गराउन माग गरेका हुन्। साहद्वारा पेश गरिएको निवेदनमा निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाइएको छ।उनले विशेषगरी परोहा नगरपालिका र राजपुर नगरपालिकाका विभिन्न वडाहरूमा सत्ता र शक्तिको दुरुपयोग भएको दाबी गरेका छन्। उनका मुख्य आरोपहरू केही मतदान केन्द्रहरूमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले मतदान केन्द्र नियन्त्रणमा लिएर सर्वसाधारणलाई छिर्न नदिएको मतदाताहरूको अनुपस्थितिमा उनीहरूको नामबाट जबरजस्ती मत खसालिएको र मतपेटिकामा एकमुष्ठ मत हालिएको विपक्षी उम्मेदवारका प्रतिनिधिहरूलाई कुटपिट गरी मतदान केन्द्रबाट बाहिर निकालिएको र मतदाताहरूलाई त्रसित पारिएको सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै पनि अराजक समूहले मतदान प्रक्रियालाई प्रभावित पारेको उम्मेदवार किरण साहले निष्पक्ष छानबिन नभएसम्म र धाँधली भएका केन्द्रहरूमा पुनः मतदानको मिति नतोकिएसम्म आफू र आफ्नो समूह मतगणना प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्। लोकतन्त्रमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्छ, तर यहाँ शक्तिको आडमा बुथ कब्जा गरियो। जबसम्म ती ८ केन्द्रमा पुनः मतदान हुँदैन, हामी मतगणना स्वीकार गर्दैनौँ,साहले भने।मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन प्राप्त भएको पुष्टि गर्दै यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने र प्राप्त प्रमाणहरूको आधारमा आवश्यक कदम चाल्ने बताएको छ। हाल सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्य केन्द्रका मतपेटिकाहरू कडा सुरक्षा घेराभित्र राखिएका छन्।घटनापछि रौतहटका केही क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरेको छ। मतदाताहरूले भने राज्यले निष्पक्ष छानबिन गरी वास्तविक जनमतको कदर गर्नुपर्ने माग राखेका छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here