७७ जिल्लामा फैलियो डेङ्गु, ४७ जनाको मृत्यु
३० असोज, मकवानपुर । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् ।
मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिमा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ ।
जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिगं होममा बिरामीको चाप अत्यधिक रहेको छ ।
डेङ्गुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौँका अस्पतालमा पठाउने गरिएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्