३०१ केन्द्रीय सदस्य, १९ पदाधिकारी र विभिन्न आयोगका अध्यक्षको सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकार अध्यक्ष ओलीलाई

श्रोत : ईन्टरनेट

१२ मंसिर, काठमाडौं । नेकपा एमाले दसौं महाधिवेशनको जारी बन्दसत्रले पार्टीका ३०१ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।

नेताहरूको आकांक्षाअनुरूप भागबन्डा मिलाउन नसकेपछि बन्दसत्रले लोकतान्त्रिक विधिबाट हुनुपर्ने नेतृत्व चयनलाई ओलीको हातमा सुम्पेको हो। यसले एमालेमा नेता चयनलाई ओलीको स्वविवेकीय अधिकारमा परिणत गराएको छ।

frontline

ओलीले अब आफ्नो स्वविवेकमा कुन कुन नेतालाई केन्द्रीय कमिटीमा ल्याउने, कसलाई पदाधिकारी बनाउने र कसलाई कुन विभागको जिम्मेवारी दिने भन्ने तय गरेर सर्वसम्मत सूची तयार पार्नेछन्। यो सूची आइतबार ११ बजे बस्ने बन्दसत्र बैठकमा पेस हुनेछ।

आइतबारको बन्दसत्रले पारित गरेपछि ओलीले पेस गर्ने सूची नै आधिकारिक हुनेछ। त्यसैअनुरूप एमालेभित्र पद बाँडफाँटले अन्तिम रूप लिनेछ। तर सूची पेस भएपछि कसैलाई चित्त बुझेन र आपत्ति जनायो भने त्यस्तो अवस्थामा उक्त पदका लागि चुनाव निषेध गरिने छैन भनेर बन्दसत्र बैठकले भनेको छ।

शनिबारको बन्दसत्र बैठकले सर्वसम्मति भएका पदमा त्यसैअनुसार नियुक्ति गर्ने र सर्वसम्मत हुन नसकेका पदमा मात्र चुनाव गर्ने निर्णय गरेको पार्टी कार्यालय सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए। यो निर्णयको आसय त्यही हो। अध्यक्ष ओलीले पेस गर्ने सूचीलाई हलले जस्ताको तस्तै अनुमोदन गर्यो भने त्यो नै अन्तिम हुनेछ। जुन पदमा सहमति हुन सक्दैन, त्यसका लागि मात्र चुनावी प्रक्रिया अघि बढ्छ।

यसरी पार्टीभित्र विभिन्न तहका नेतृत्वको सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकार ओलीलाई सुम्पौं भन्ने प्रस्ताव विष्णु पौडेलले ल्याएका थिए। उनी ओलीका विश्वासपात्र निकट नेता हुन्। यसपालि महासचिव पदको दाबेदारी गर्दै आएका छन्।

पौडेलले यस्तो प्रस्ताव ल्याएपछि बन्दसत्रले तालीको गड्गडाहटसहित पारित गरेको तामाङले बताए।

अध्यक्षमा ओलीलाई चुनौती दिइरहेका भीम रावलले भने तत्कालै आपत्ति जनाए। सर्वसम्मतिका नाममा पार्टीका सम्पूर्ण पदाधिकारी चुन्ने सर्वाधिकार ओलीलाई सुम्पनु भनेको एक व्यक्तिको हातमा पार्टीको बागडोर जिम्मा लगाउनु हो भन्दै उनले आपत्ति जनाएको उनीनिकट नेता झपट रावलले बताए।

‘यस्तो प्रस्ताव ल्याउने हो भने बरू विधानमै व्यवस्था गरेर ओलीलाई नै सम्पूर्ण पार्टी जिम्मा लगाऊँ भन्ने भीम रावलको भनाइ थियो,’ झपट रावलले भने।

रावलको आपत्तिपछि ओलीले उनलाई जवाफ दिँदै ‘आफूले सूची तयार पारेर ल्याउने र कसैलाई चित्त नबुझे चुनावमा जान सक्ने’ बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here