१ सय ३८ घर रहेको बस्तीमा पथरैया नदी पस्यो
कैलाली । पथरैया नदीमा आएको बाढी १ सय ३८ घर रहेको बस्तीमा पसेको छ ।
जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको जिल्ला प्रशासनक कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । ‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ,’ उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ ।’
यस्तै, प्रशासनले कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी, कैलारी गाउँपालिकाका विभिन्न क्षेत्रका घरमा पनि पानी पसेको छ । चुरे क्षेत्रमा भइरहेको वर्षाका कारण कैलालीका अधिकांश नदीमा पानीको बहाव बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव बढ्ने जनाएको छ । मध्यपहाड, चुरे र तराई भएर बग्ने स–साना नदीमा बहाव बढेकोले तटीय क्षेत्रबाट बासिन्दालाई महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्