१८ हजार क्विन्टल धान खरिद गरिँदै
१ पौष, पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष १८ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । १५ हजार क्विन्टल सोना मन्सुली र ३ हजार क्विन्टल जिरा मसिनो धान खरिद गरिने भएको हो ।
कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहका अनुसार केन्द्रबाट आइतबार मात्रै धान खरिदको आदेश तथा कोटा प्राप्त भएको छ । यसपटक सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ रहेको उनले बताए । यो संघीय सरकारले नै निर्धारण गरेको समर्थन मूल्य हो ।
जिरा मसिनोको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने छ । समिति कम्पनी शाखा कार्यालय प्रमुख, कृषि ज्ञान केन्द्र प्रमुख, वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत गरी ४ सदस्यीय छ ।
समितिको बैठकमा कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य संघले हाल बजारमा रहेको मूल्यबारे आफ्नो राय दिएपछि खरिद मूल्य तय गरिनेछ । आवश्यक प्रक्रिया पूरा गरी पुस १ वा ३ गतेबाट धान खरिद सुरु गरिने कुशवाहले बताए ।
जिल्लाका किसानले हालै मात्र धान बाली भित्र्याएको र धान सुकिनसकेकाले यस वर्ष खरिदमा ढिलाइ नभएको उनको भनाइ छ । कार्यालयमा पर्सा र बाराका किसानले धान बिक्री गर्न ल्याउँछन् ।
प्रतिक्रिया दिनुहोस्