१५ जेठको प्रदर्शनले तनावमा लोकसेवाका ५ हजार परीक्षार्थी

कस्तो हुँदैछ सुरक्षा व्यवस्था ?

परीक्षार्थीहरूको चिन्ताबारे आफूहरू जानकार रहेको लोकसेवा आयोगका एक पदाधिकारी बताउँछन् । उनका अनुसार, सो दिनको परीक्षामा सहजताका लागि के गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • १५ जेठ काठमाडौंमा राजतन्त्र पुनर्स्थापना र सनातन हिन्दू राज्यसहितको माग राखेर प्रदर्शन हुँदैछ।
  • सत्तारुढ दल नेकपा एमालेले सोही दिन सांस्कृतिक उत्सव मनाउने तयारी गरेको छ, प्रधानमन्त्रीले कार्यकर्तालाई काठमाडौंमा नियन्त्रणमा राख्न निर्देशन दिएका छन् ।
  • तर, लोकसेवा आयोगले सो दिन काठमाडौंका २५ केन्द्रमा विद्युत् प्राधिकरणका प्राविधिक पदहरूको परीक्षा लिँदैछ, परीक्षार्थीहरू प्रदर्शनको कारण चिन्तित छन्।

१२ जेठ, काठमाडौं । आगामी जेठ १५ गते (बिहीबार) काठमाडौंमा राजतन्त्र पुनर्स्थापना र सनातन हिन्दू राज्यसहितको माग राखेर प्रदर्शन हुँदैछ ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिको नेतृत्वमा हुन लागेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालको पनि साथ छ ।

सोही दिन सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसको उत्सव मनाउँदैछ । एमाले बैठकले नै सांस्कृतिक झांकीसहित सो दिन काठमाडौंमा उत्सव मनाउने निर्णय लिएको थियो ।

यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई  दिन काठमाडौं एमालेको नियन्त्रणमा राख्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीले दिएको उक्त निर्देशनसँगै एमालेले उत्सवको तयारी तीव्र बनाएको छ ।

सोही दिन काठमाडौंका २५ वटा केन्द्रमा लोकसेवा आयोगले विद्युत् प्राधिकरणका प्राविधिक पदहरूको परीक्षा लिँदैछ ।

उक्त परीक्षामा ४ हजार ९ सय विद्यार्थी सहभागी हुँदैछन् ।

प्रदर्शनका यस्ता खबरहरू सार्वजनिक भइरहँदा परीक्षार्थीहरू सो दिनको परीक्षा के हुने भनेर चिन्तामा छन् ।

अनलाइनखबरसँग एक विद्यार्थीले गुनासो गर्दै भने, ‘हामी बसेको ठाउँबाट परीक्षा केन्द्र धेरै टाढा छ । जताततै प्रदर्शन हुने खबरहरू छन् । हामी परीक्षा दिने ठाउँमा कसरी पुग्ने भन्ने चिन्तामा छौं ।’

ती विद्यार्थीका अनुसार, केन्द्र वरपर प्रदर्शन हुन सक्ने भएकाले परीक्षामा पनि असर पर्नेतर्फ राज्यले ध्यान दिनुपर्नेछ ।

केन्द्रसम्म आवतजावत गर्नका लागि सवारी साधनको आवागमनबारे पनि परीक्षार्थी चिन्तित छन् ।

परीक्षार्थीहरूको चिन्ताबारे आफूहरू जानकार रहेको लोकसेवा आयोगका एक पदाधिकारी बताउँछन् । उनका अनुसार, सो दिनको परीक्षामा सहजताका लागि के गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

‘हामी परीक्षार्थीको चासो र चिन्ताबारे जानकार छौं,’ आयोग स्रोतले भन्यो, ‘के गर्ने भनेर छलफल गरिरहेका छौं ।’

उता, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी शेखर खनालले विद्यार्थीहरूलाई परीक्षास्थलमा सकेसम्म चाँडो पुग्न आग्रह गरेका छन् ।

परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था चुस्त हुने भएपनि ट्राफिक जाम लगायतका समस्या हुनसक्ने बताउँदै उनले जतिसक्दो चाँडो केन्द्रमा पुग्न विद्यार्थीलाई आग्रह गरेका हुन् ।

‘केन्द्रमा सुरक्षा व्यवस्था बलियो हुन्छ । कुनै समस्या हुँदैन । त्यो दिन नारा जुलुस हुने भएकाले मुख्य समस्या बाटोमा हुने हो,’ एसएसपी खनालले भने, ‘परीक्षार्थीहरू जतिसक्दो चाँडो विद्यार्थी केन्द्रमा पुग्नेगरी सोच्न आग्रह गर्न चाहन्छौं ।’

प्रकाशित तालिकाका अनुसार, दिउँसो २ बजेबाट परीक्षा सुरु हुने छ ।

प्रदर्शन |लोकसेवा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here