१४ वर्षदेखि अधुरो टिकुलिया घाट पुल : जनताको पीडा, सरकारको बेवास्ता

रौतहट,
मेवालाल यादव

गौर नगरपालिका–४ र ईशनाथ नगरपालिकालाई जोड्ने टिकुलिया घाटमा निर्माणाधीन पुल विगत १४ वर्षदेखि अलपत्र अवस्थामा छ। लालबकैया नदीमा निर्माणाधीन यो पुल समयमै सम्पन्न हुन नसक्दा आजसम्म पनि सर्वसाधारणले डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

frontline

दिनहुँ डुङ्गाको सहाराले नदी पार गर्नुपर्ने स्थानीयवासी वृद्धवृद्धा, बालबालिका, विद्यार्थी तथा सुत्केरी महिलाहरूका लागि यो यात्रा निकै कठिन, कहिलेकाहीँ घातकसमेत बन्दै गएको छ। २०७५ सालमा सोही घाटमा भएको डुङ्गा दुर्घटनामा पाँच जनाको मृत्यु भएको त्रास अझै स्थानियको मानसपटलमा ताजा छ।

पुल निर्माणको पहिलो ठेक्का २०७१ असार २९ गते पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख रुपैयाँमा पाएको थियो। उक्त सम्झौता अनुसार २०७५ असार २५ भित्र काम सम्पन्न हुनुपर्ने भए पनि निर्माणमा सुस्तता देखाउँदै कम्पनीले पुल अधुरै छाड्यो।
यसपछि २०८० असोज ९ गते आजाद–दिपु जेभी कम्पनीलाई बाँकी कामका लागि २७ करोड ६६ लाखमा पुनः ठेक्का दिइयो। कम्पनीले २०८१ चैत १ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि सरकारबाट बजेट नआएको कारण देखाउँदै निर्माण कार्य रोकिएको छ।

हाल नदी पार गर्न बाहिरी व्यक्तिले ३० रुपैयाँ तिर्नुपर्छ भने गौर र ईशनाथका स्थानीयहरूलाई यस वर्ष निःशुल्क सेवा दिइएको डुङ्गा चालक पतिराम सहनीले जानकारी दिएका छन्। तर आर्थिक छूटले जोखिमको भय घटेको छैन।

टिकुलिया निवासी राम अवतार साह भन्छन्, “विकास भन्ने नारामात्र हुन्छ, काम हुँदैन। यो पुल राजनीतिज्ञ र ठेकेदारको मिलेमतोको खेल बनेको छ।”
साह मात्र होइन, स्थानीय तह, जनप्रतिनिधि तथा नागरिक समाज सबैले सम्बन्धित सडक विभाग र मन्त्रालयलाई तत्काल बजेट विनियोजन गर्न आग्रह गरेका छन्। यदि पुनः ढिलाइ भयो भने आन्दोलनको चेतावनी पनि दिइएको छ।

टिकुलिया घाटको अधुरो पुल अब विकासको मुहान होइन, राज्य र निकायहरूको उदासीनताको ऐना बनेको छ।
रौतहटमा सुस्त गतिमा निर्माण भइरहेका धेरै पुलमध्ये टिकुलियाको यो पुल स्थानीय जनजीवनमा प्रत्यक्ष असर पुर्‍याउने मुख्य उदाहरण बनेको छ।

१४ वर्षदेखि ‘सपना’ बनेको यो पुल गौर र ईशनाथको मात्रै होइन, समग्र मधेसको विकासप्रतिको सरकारी दृष्टिकोणको प्रतिनिधि कथानक बनेको छ। अब पनि तत्काल कदम चालिएन भने यो अधूरो सपना अझै कति वर्ष तन्किन्छ, त्यो अनिश्चित छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here