१२ दिनदेखि हराइरहेका युवकको शव चारकोसे जंगलमा भेटियो

१० माघ, विराटनगर  । मोरङको केराबारीमा १२ दिनदेखि हराइरहेका एक जना युवकको शव चारकोसे जंगलमा भेटिएको छ।

केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो।

frontline

प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएपछि भट्टराईको हत्या भएको आशंका गरिएको छ।

आफन्त र परिवारका सदस्यले हत्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।

भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए। परिवारबाट सम्पर्कविहीन बनेका उनको शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइतबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अनुहार पनि नचिनिने गरी सडेको शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे। घरबाट मच्छिन्द्र मेला हेर्न भनेर गएका उनी एकाएक सम्पर्कविहीन बनेपछि परिवारले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको थियो।

उजुरी दिए पनि प्रहरीले खोजतलासमा चासो नदिएको गुनासो आफन्तको छ। मच्छिन्द्र मेला पुस २३ गतेदेखि २९ गतेसम्म लागेको थियो।

प्रहरीका अनुसार मेला भर्न गएका स्थानीयले भट्टराईलाई पुस २८ गतेसम्म मेलामै देखेको बताएका छन्। स्थानीयले मेलामा केही युवाहरुसँग भट्टराईको विवादसमेत भएको प्रहरीलाई बताएका छन्।

त्यस क्रममा उनको हत्या गरेर शव चारकोसे जंगलको रुखको जराभित्र लुकाइएको हुनसक्ने प्रहरीको आशंका छ।

‘शव सडेर केही पनि नचिनिने अवस्थामा भेटिएका कारण हत्या हो कि हैन भनेर यकिन गर्न गाह्रो भइरहेको छ’, प्रहरी स्रोतले भन्यो, ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि र अनुसन्धानपछि घटनाका बारेमा थप कुरा पत्ता लाग्ने छ।’

लामो समयदेखि बेपत्ता भएका युवकको खोजीमा प्रहरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले शव उठाउन केहीबेर अवरोधसमेत गरेका थिए।

प्रहरीले घटनाका बारेमा अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता जनाएपछि स्थानीय शव उठाएर पोस्टमार्टमका लागि लैजान दिन राजी भएका हुन्।

स्थानीय जनप्रतिनिधिको रहोबरमा प्रहरीले घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि धरान लगेको हो।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here