हेलिकप्टरले भोटेकोशीको पानी खन्याउँदा पनि निभेन ३ दिनदेखि लागेको डढेलो

 सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा गत शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अरनिको राजमार्ग अन्तर्गत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रको यो जंगलमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएको थियो ।

frontline

यद्यपि अहिले पनि आगो नियन्त्रणमा आइनसकेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।

‘हिजो दिनभर पनि हेलिकप्टरबाट भोटेकोशीको पानी उभ्याएर लगेर खन्यायौं,’ उनले भने, ‘बस्ती वरिपरिको क्षेत्र जोगाएका छौं । जोखिममुक्त छ ।’

उनका अनुसार शुक्रबारबाट सुरु भएको आगलागीबाट ३५ वर्ग किलोमिटर क्षेत्रमा जंगल जलिसकेको छ । अहिले माथि डाँडामा आगलागी भइरहेको उनले बताए ।

सोमबार खिचिएको आगलागी भएको क्षेत्रको दृश्य

‘कोदारीभन्दा माथि राङ्बुसा गाउँबाट माथिल्लो भिरमा आगो लागेको हो,’ उनले भने । डाँडामा लागेको डढेलो पनि नियन्त्रणमा लिनेगरी प्रयास भइरहेको उनले बताए ।

वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार बिहान आगो कम देखिए पनि अहिले घाम लागेपछि धुवाँको मुस्लो ठूलो हुँदै गएको छ ।

‘बस्तीबाट त टाढा गएको छ । दिउँसो भएपछि घाम लागेर हावाहुरी लाग्दा अलिक बढेको जस्तो देखिन्छ,’ उनले भने, ‘आगो नै सल्किएको त छैन, तर धुँवाको मुस्लो चाहिँ ठूलै आइरहेको छ ।’

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले बताए ।

लिपिङ बजारमाथिको भिरबाट डढेलो सुरु भएको थियो ।

केहीदिन अघि काभ्रेपलाञ्चोकको बेथानचोक र खानीखोला गाउँपालिकामा लागेको डढेलो झण्डै एक सातापछि नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here