हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए

करेन्ट लागेर मृत्यु भएका सर्लाहीको घारीबथानका उपेश परियारको घरको छाना स्थानीय गाउँले मिलेर हालिदिएका छन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- हाइटेन्सन लाइनको काम गर्दागर्दै करेन्ट लागेर मृत्यु भएका उमेश परियारको हावाहुरीले उडाएको घरको छानो स्थानीय गाउँलेहरू मिलेर हालिदिएका छन् ।
- उपेश परियारको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ र रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ।
- सहमतिसँगै रश्मिलाले उपेशको शव बुझेर लगेका छन् ।
७ जेठ, काभ्रेपलाञ्चोक । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित घारीबथानका उमेश परियारको काभ्रे धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो ।
कमजोर आर्थिक अवस्था भएका परियारको १ जेठमा आएको हावाहुरीले घरको छानो उडाइदियो । घरमा कमाउने मान्छेको मृत्यु तथा घरको छानो उडाएपछि अप्ठेरोमा परेको उमेशको परिवारलाई स्थानीयले थोरै भए पनि राहत पुर्याइदिएका छन् ।
करेन्ट लागेर मृत्यु भएका परियारको घरको छाना स्थानीय गाउँले मिलेर हालिदिएका छन् ।
घारीबथानस्थित गोपीचोकमा रहेको उपेशको घरको छानो स्थानीय गाउँलेको सहयोगमा बनेको ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले जानकारी दिए ।
उज्वलको परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत-सम्भार तथा छानो हाल्ने काम गरिदिएको उनको भनाइ छ । उपेशको घरमा हावाहुरीले छानो उडाएपछि खाने अन्न र लगाउने कपडा सबै भिजेको छ । गत शनिबार बिहान मात्र उपेशकी श्रीमती रश्मिला घरको छानोका लागि सहयोगको अपिल गरिरहँदा धुलिखेलमा दुःखद घटना घटेको थियो ।

रश्मिला ५ वर्षको छोरा शिशिरलाई सँगै लिएर श्रीमान्को शव बुझ्न धुलिखेल आइपुगेकी थिइन् । उनले शव बुझेर सर्लाही पुग्दा स्थानीयले घरको छानो हाल्न सुरु गरिसकेका थिए । शव लिएर आएपछि काजकिरियामा बस्ने ठाउँ समेत नरहेकाले गाउँले मिलेर उपेशको घरको छानो हाल्ने काम भएको वडा सदस्य दिनेश बुढाथोकीले जानकारी दिए ।
‘यो घर बाहेक उनीहरूको केही पनि छैन, उपेशले कमाएको भरमा परिवारको गुजारा चलिरहेको थियो,’ बुढाथोकीले भने, ‘उपेशको मृत्युसँगै यो घरको सहारा र आधार केही बाँकी रहेन ।’
उनका अनुसार मृतक उपेशका श्रीमतीसहित दृष्टिविहीन आमा, बुबा, ८ वर्षीया छोरी उर्मिला, ५ वर्षका छोरा शिशिर छन् । ‘आमा दुवै आँखा देख्दिनन्, बुबाले कतैबाट अम्दानी गर्ने अवस्था छैन, श्रीमतीले घर हेरेर बसिदिँदा उपेशले कमाएको पैसाले परिवार चलिरहेको थियो,’ बुढाथोकीले भने, ‘उपेशको प्राण गएसँगै यो परिवारको बिचल्ली भयो ।’
उपेश ठेकेदारमार्फत मजदूरको रूपमा विद्युत् प्राधिकरणअन्तर्गत हाइटेन्सन लाइन विस्तारको काममा थिए । हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला करेन्ट लाग्दा उपेशको घटनास्थलमै मृत्यु भएको थियो ।
विद्युत प्राधिकरण र ठेकेदार कम्पनीले मृतक उपेशको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

सहमति अनुसार सुदिपा निर्माण सेवाले मृतकका परिवारलाई पालनपोषण र छोराछोरीलाई शिक्षाका लागि परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउनेछ ।
यसैगरी विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावलीअनुसार अधिकतम १० र न्यूनतम ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने र उपेशकी श्रीमतीलाई घर पायक पर्ने स्थानमा योग्यताअनुसार रोजगारी उपलब्ध गराउने सहमति भएको छ ।
सहमतिसँगै रश्मिलाले उपेशको शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्