हिरासतमा रविको भयः अझै थुनामै राख्ने तयारी गरियो

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पहिलो पटक दिएको म्याद आज सकिँदै छ ।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

frontline

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराउँदै छ ।

गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइँदै छ ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि गोर्खा मिडियामार्फत अपचलन भएको भन्दै जोशीलाई रुपन्देहीमा बयान गराएर बुधबारमात्र पोखरा ल्याइएको छ । गोर्खा मिडियाकै मुद्दा भएकाले मिलान गरी आज एकसाथ उनीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो : वाग्ले

सरकारले राजनीतिक प्रतिशोधको साँधेर रविलाई पक्राउ गरेको आरोप रास्वपाले लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।’

उनले थपे, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरी हिरासतमा पनि निकै छटपटीमा छन् । उनमा यसपटक लामै समय हिरासत बस्नुपर्ने, नभए पुर्पक्षका लागि कारागार नै पठाउने हो कि भन्ने भय पनि देखिएको उनलाई भेटेकाहरु बताउँछन् ।

आफूलाई भेट्न आएका रास्वपाकै नेताहरुसँग पनि रविले आफूलाई हिरासतमै राख्नका लागि फेरि म्याद थप्ने गरी बयान लिइएको बताएका छन् । प्रहरीले बयान लागि बोलाएर २/३ वटामात्रै प्रश्न सोध्ने र ती सबै पहिले नै जवाफ दिइसकेको प्रश्न रहेको रविले आफ्ना नेता तथा कानुनी प्रतिनिधिहरुलाई बताएका छन् ।

रविलाई प्रहरी हिरासत भवनको माथिल्लो तलामा अलग्गै राखिएको छ । प्रहरीले बयान कक्षमा बोलाएर ३ वटामात्रै प्रश्न सोधेर सकियो भनेपछि रविले आपत्ति जनाएको प्रहरी स्रोतको भनाइ छ । ‘रविलाई लागिरहेको छ कि मलाई यसपटक छोड्दैनन्,’ ती अधिकृतले भने, ‘प्रहरी बयानदेखि सरकारी वकिलको कार्यालयसम्मको बयानमा उहाँमा ठूलो संशय र भय देखिन्छ ।’

पोखराको सूर्यदर्शन सहकारीको साढे ५ करोड रकम गोर्खा मिडियामार्फत संगठित रुपमा अपचलन गरेको अभियोग उनीमाथि छ । रविले सूर्यदर्शन सहकारीबाटै १ करोड रुपैयाँ लगेर गोर्खा मिडियामै मिलान गरेको पनि प्रतिवेदनमा छ ।

गितेन्द्रबाबु राई (जीबी) नेतृत्वको गोर्खा मिडियाले त्यही समूहले देशका विभिन्न ठाउँमा खोलेको सहकारीमा ६५ करोड रुपैयाँभन्दा धेरै अपचलन गरेको संसदीय विषय छानबिन समितिको प्रतिवेदनमा छ । समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै छन् ।

सूर्यदर्शनको रकम सिधै रविले खर्च गरेको नदेखिए पनि गोर्खा मिडियामार्फत अपचलन गर्न उनको संलग्नता रहेको भन्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग लगाएको छ । सहकारी ठगीमात्र नभएर संगठित अपराधमै मुद्धामा थप अनुसनधानका लागि थपिएको म्याद अनुसन्धान नै नगरी सकाएर फेरि म्याद थप्ने तयारी गरिएको रविले जानकारी गराएका छन् ।

रविलाई रुपन्देही पठाउने तयारी

एउटै प्रकृतिको कसुरुमा गत असोज ६ गते पक्राउ परेका छविलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान गराएर बुधबारमात्र पोखरा ल्याइएको छ । रविलाई पनि पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।

रविको मंगलबार सरकारी वकिलको कार्यालयमा बयान भएको थियो भने बुधबार जिल्ला प्रहरी कार्यालयमै बयान लिइएको छ । तर, कुनै पनि प्रश्नको तयारी नगरी बयानका लागि बोलाउने र अलमल्याउने काम भइरहेको रास्वपाका कार्यवाहक प्रवक्ता तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

‘६ दिन राख्दा ६ घन्टा पनि बयान लिइएको छैन । कागजपत्र, अनुसन्धान गर्ने प्रश्न नै तयारी नगरी बयान लिइएको छ । कुनै पनि डकुमेन्ट तयार नगरी भाग्न लागेको चोर समाते जसरी समातियो र यसलाई जसरी पनि थुन्नैपर्छ भन्ने अभिप्राय देखिएको छ,’ बुर्लाकोटीले भने, ‘कुन अभियोगमा के अनुसनधान गर्न समातिएको हो, सोध्नुपर्ने कुरा नै सोधिएकै छैन ।’

अहिलेसम्म ५/६ घण्टामात्रै बयान लिइएको र बयान लिँदा पनि एउटै कुरा सोधिएको उनको भनाइ थियो । पुरक जाहेरीमाथि पनि कास्की प्रहरी काठमाडौंमै पुगेर बयान लिएको थियो ।

अहिले सोधिएको प्रश्न, त्यो बेला सोधिएका प्रश्न एउटै रहेको बुर्लाकोटीले बताए । रविसँग नेताहरुले भेटेपछि भएको विवरण उल्लेख गर्दै बुर्लाकोटीले भने, ‘पुरक जाहेरीको बयानपछि त्यो प्रहरीले उहाँलाई मुद्दा चलाउनुपर्ने देखिएन भनेको छ । राजनीतिक प्रतिशोधकै आधारमा पहिले नै पक्राउ गरेर थुन्ने र फेरि तिनै प्रश्न सोध्ने काम भइरहेको छ ।’

विरोध प्रदर्शन जारी

रास्वपा उपसभापति डिपी अर्यालले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै रास्वपाले शान्तिपूर्ण प्रदर्शन गरिरहेको र बिहीबार पनि वाई चोकमा गर्न लागेको जानकारी जानकारी गराउन पनि प्रहरी कार्यालय पुगेको बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । कसैले घुसपेठ गरेर अशान्ति मच्चाउलान्, त्यसमा ख्याल गरिदिन पनि भनेका छौं,’ डीपीले भने ।

जीवी राईको नेतृत्वमा विभिन्न सहकारीबाट जनताको ८७ अर्ब रुपैयाँ सहकारीमा डुबेको छ । रवि गृहमन्त्री हुँदा पटक पटक आश्वासन दिएर पनि पक्राउ नगरेको भन्दै पीडित आक्रोसित थिए । अब भने रवि नै पक्राउ परेपछि यो मुद्दा किनारा लाग्ने सक्ने आशा पीडितको छ ।

पोखरा महानगरले गराएको सूर्यदर्शनको पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पुरक जाहेरी परेपछि र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसन्धान गरी गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो । त्यसकै भोलिपल्ट मेयर आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

२०८० भदौ २१ गतेसम्म सस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्‌टवेयरमा उल्लेख भएका कुल १८ हजार ७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।

प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here