हिजोको गठबन्धन,आजको गडबडी

“तिघ्रे’ उपनामले परिचित निलम्बित सांसद मोहनबहादुर बस्नेत र “लाहुरे” भनी कहलिएका बहालवाला सांसद माधव सापकोटाबीच द्वन्द्वबढेको छ । सिन्धुपाल्चोक-१ बाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटा र २ नम्बरका बस्नेतबीच विकास निर्माणको विषयलाई लिएर झगडा परेको भने होइन । बरु दुई माननीयको जुँगाको लडाइँले जिल्लामा विकासका काम अवरुद्ध भएको गुनासो सुनिन्छ ।
गत आम चुनावमा यौटै गठबन्धनबाट उठेका यी दुई त्यतिबेलैदेखि झगडिएका हुन् । काँग्रेस र माओवादी केन्द्रले देशैभर गठवन्धन गरेपछि सिन्धुपाल्चोक-१ को टिकट आफ्नो पोल्टामा पार्न यी दुईले ठूलै कसरत गरेका थिए । आफ्ना सहोदर काका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको प्रभाव देखाएर माधवले १ नम्बरको टिकट माओवादीको भागमा पारेपछि बस्नेत गृहक्षेत्र छोडेर २ नम्बरतिर लागेका थिए । त्यसअघि यिनले पनि पत्नी माण्डवी राणाको सारीको लप्को समातेर पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई ‘नैवेध’ चढाउन पुगेको किस्सा र कहानी कम रोचक छैन । तथापि केही सीप नलागेपछि लुरुक्क पर्दे खुरुक्क सिन्धुपाल्चोक-२ बाट उम्मेद्वार बनेका बस्नेत माओवादीको समेत भोट लिएर सांसद भइछाडे ।




हुन त मंसिरको त्यो चुनावअघि पनि तिघ्रे र लाहुरेबीच घनिष्ठ सम्बन्ध थिएन । त्यसअघि नै बस्नेतले पटकपटक सार्वजनिक सम्बोधनमा सापकोटालाई ‘लिखुरे’ भन्दै सत्तोसराप गर्ने गरेका थिए । चुनावमा गृह क्षेत्र खोसिएपछि रन्थनिएका बस्नेतले त्यतिबेलादेखि सापकोटा खलकलाई ज्यानीदुश्मन ठान्न थालेको घटनाक्रम केलाउँदा थाहा लाग्छ ।
एमालेका शेरबहादुर तामाङलाई झण्डै १२ हजारको मतान्तरणले हराउँदै संसदीय निर्वाचनकै इतिहास मा पहिलोपटक सो क्षेत्रमा नेपाली काँग्रेसले विजयको झण्डा फरफराउन सफल भयो । तर, नेपाली काँग्रेसको वर्चस्व रहँदा रहँदै पनि १ नम्बरमा भने सापकोटालाई त्यसरी भोट खनिएन ।
सिन्धुपाल्चोक-१ बस्नेतको गृहक्षेत्र भएकै कारण उनको पहुँच र प्रभाव बलियो थियो,छ । तर निर्वाचनका बेला बस्नेतले सापकोटालाई दिल खोलेर सहयोग गरेनन् । बरु उल्टै चुनावी प्रचारप्रसारको अभियानमा आफ्ना भाइभतिजलाई उचालेर काँग्रेस र माओवादीबीच गठवन्धन नै नभएकोजस्तो गरी ठोकठाक गर्न लगाए । काँग्रेसी कार्यकर्तालाई खसी काट्न, भोजभतेर गर्न,गराउन र पैसो माग्न लगाए । जसले गर्दा निर्वाचनमा सापकोटाको करोडौं स्वाहा भएको बताइन्छ ।
गठवन्धनको मर्मअनुसार सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का माओवादीहरुले डोकाबाट मल खन्याए जसरी बस्नेतलाई भोट खन्याइदिए । इमान्दारिताको एउटा नमूना नै पेश गरे । जसका कारण एमालेका शेरबहादुर तामाङलाई झण्डै १२ हजारको मतान्तरणले हराउँदै संसदीय निर्वाचनकै इतिहासमा पहिलोपटक सो क्षेत्रमा नेपाली काँग्रेसले विजयको झण्डा फरफराउन सफल भयो ।
तर, नेपाली काँग्रेसको वर्चस्व रहँदा रहँदै पनि १ नम्बरमा भने सापकोटालाई त्यसरी भोट खनिएन । बस्नेतको दवाव र प्रभाव रहेको सुनकोशी,भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रविसे नगरपालिकाबाट सापकोटालाई नगन्य मात्रामा भोट खस्यो । माओवादीकै प्रभाव क्षेत्र बलेफी,जुगल,लिसंखुपाखर गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको मतबाट नै उनले एमालेका अरुण नेपाललाई ३५ सय मतान्तरणले पराजित गरेको हिसाब प्रसंग चल्दा अहिले पनि धेरैले सुनाउँछन् ।
निर्वाचनलगत्तै काँग्रेस र माओवादीको गठवन्धन सरकार बन्यो । दुई दलको सरकार रहुञ्जेल यी दुई नेता पनि के-के नै गर्छुजस्तो गरेर कतिपय कार्यक्रममा हलगोरु नारिएजस्तो नारिएर हिंडेको पनि देखियो । तर जब काँग्रेस-माओवादीको गठवन्धन तोडियो त्यसपछि यी दुईको मनभित्र गडिएर रहेको बैमनस्यताको ज्वारभाटा क्रमश: विष्फोट हुन थाल्यो । फलस्वरुप पछिल्लोपटक जिल्लाका केही स्थानमा माओवादी र काँग्रेसबीच झडपको स्थितिसमेत देखिन थालेको छ ।
केही महिनाअघि त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने दाबेखोला मोटरेबल पुल उद्घाटनका लागि प्रमुख अतिथि भएर बस्नेत पुगेपछि यी दुईको टकराव पोखिएर छताछुल्ल भयो । माओवादी केन्द्रका उपाध्यक्ष एवम् तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बन्न लागेको पुलको उद्घाटन गर्न बस्नेत पुगेपछि दुईपक्षीय लफडा सतहमै आएको हो । बस्नेतको बाटो छेक्न वाइसिएल लगाएर सडक अवरुद्ध पारेको आरोपसमेत सापकोटामाथि लागेको थियो । तथापि आफ्ना झोले र प्रहरीको सुरक्षा घेरामा बस्नेतले पुल उद्घाटन गरिछाडे ।
कार्यक्रमस्थल बाहिर माओवादी कार्यकर्ता र समर्थक स्थानीयले नारा लगाएपछि झण्डै दोहोरा झडपसमेत भएको थियो । सोही कार्यक्रममा हो बस्नेतले सापकोटाको गर्धन रुखमुनी पारिदिने धम्कि दिएको । लगत्तै सुकुटेमा भएको माओवादीको विरोधसभामा सापकोटाले पनि पाखुराको दम्भ नदेखाउन चेतावनी दिंदै मोटा तिघ्रा ठटाउँदैमा कोही नतसिर्ने जवाफ फर्काएका थिए ।
आफूले जितेको क्षेत्रमा सिन्को नभाँच्ने अनि सापकोटाको ठाउँमा गएर चर्पी उद्घाटन गर्न पनि पछि नपर्ने अनौठो हर्कतका कारण सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा शुरुदेखि नै किचलो हुँदै आएको छ । कुनै नयाँ कार्यक्रम र विकास बजेट पर्यो भने सापकोटा र बस्नेतबीच जश लिने होडबाजी चलिहाल्छ ।
उद्घाटन भनेपछि हुरुक्कै हुने बस्नेतले भ्रष्टाचार अभियोगमा सांसद पद नै निलम्वित हुँदासमेत नैतिकता विर्सेर त्यस्ता कार्यक्रममा प्रमुख अतिथि बन्दै आएका छन् । अस्ति ५ गते पनि लिसंखुपाखर गाउँपालिका निगालेस्थित खानेपानी आयोजनाको उद्घाटन गर्न उनी चुल्ठेमुन्द्रेको दलबलसहित पुगेका थिए । माओवादीले वाइसिएल परिचालन गरेर विरोध गर्ने थाह पाएपछि राजधानीबाट ठूलो संख्यामा चुल्ठेमुन्द्रे उतारेका उनले सापकोटालाई ‘लाहुरे’ उपनाम दिएको पनि त्यहि दिन हो ।
कार्यक्रमा उनले माओवादीले गाउँपालिका अध्यक्षलाई प्रयोग गरेर आफ्नोविरुद्ध विज्ञप्ति निकाल्न लगाएको भन्दै भडास पोखेका थिए । माओवादीलाई सत्तोसराप गर्दै बस्नेतले पालिका अध्यक्ष राजु लामालाई आफूले गौशाला प्रहरी चौकीबाट पटक-पटक जेलमुक्त गरेको पनि भन्न भ्याए । तीन विसौलीको बोकाहरुलाई ठीक पार्न आफू एक्लै काफी हुने उग्र भाषण गरेका उनले ‘माओवादीका छाउराहरुले धेरै फूर्ति नलगाऊ’ भन्दै सापकोटालाई चेतावनी दिए ।
यी दुई नेताबीच यसरी नै बेलगाम वाकयुद्ध बढ्दै गएमा कुनै दिन अप्रिय घटना हुन सक्ने चिन्ताले सिन्धुका सचेत वर्ग हैरानमा छन् । उनीहरु विकासको सवाललाई लिएर नेताबीच होड हुनपर्नेमा जोड दिन्छन् । ‘तर, यहाँ त एकले अर्कालाई सिध्याउन लागि परेका छन्’, चौताराका रविन्द्र श्रेष्ठ भन्छन्, ‘यसले विकास होइन विनास निम्त्याउँछ ।’
प्रतिक्रिया दिनुहोस्