हरितालिका तीजको पौराणिक महत्व
१४ भदौ, काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका केही ठाँउमा पनि मनाइने गरिएको छ ।
भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो, त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।
तीजमा विवाहित महिलाहरू आफ्नो जन्मघर माइत फर्कने र मिठा मिठा परिकारहरु खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ । तीजमा अर्को पनि एउटा महत्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु । विवाहित तथा अविवाहित महिलाहरु तीजको दिनमा व्रत बस्ने परम्परा रहेको छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।
त्यस्तै परम्पराअनुसार व्रत बस्नेले अखण्ड सौभाग्य पाउने तथा रोग व्याधी निको हुन्छ भन्ने मान्यता रहेको छ ।
तीजको अवसरमा व्रत बसेमा आफ्ना मनोकामना पूरा हुने जनविश्वास पनि रहँदै आएको छ ।
दरखाने दिन
तीजको पहिलो दिनलाई दर खाने दिन पनि भनिन्छ । यो चाडमा माइतीले विवाह गरेका छोरी/चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मिठामिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुख दु:ख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ ।
यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गर्दछन् । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई ब्रत बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी र आडिलो खानेकुरा प्रचलन रहेको छ ।
हरितालिका तीज
महिलाहरूको महानपर्व तीजको दोस्रो दिन लाई हरितालिका (तीज) भनिन्छ । खास गरी यस दिन महिलाहरूले श्रीमानका र अविवाहित महिलाहरूले राम्रो श्रीमान पाउ भनि निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी स्नान गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन् । यो दिन काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरभरका शिवालयहरूमा महिला ब्रतालुहरूको ठूलो भीड हुने लाग्ने गर्दछ ।
गणेश चतुर्थी
यो दिन महिलाहरूले बिहानै उठेर स्नान गरी गोर्वधन पूजा र गणेशको पूजा गर्ने गर्दछन् । पूजा सकेरमात्र सादा र शुद्ध खाना खाने गर्दछन् । अघिल्लो दिन भोकै बसेको हुनाले बिहान चाडै नै खाना खाइने गरिन्छ । खाना खाइपछि महिलाहरू दिनभरी नाचगान गरी रमाइलो गर्ने गर्दछन् ।
यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा गणेशको आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ ।
ऋषिपञ्चमी
यो दिन महिलाहरू विशेष नदि, खोला तथा तलाउमा गएर स्नान गर्ने गर्दछन् । शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको स्नान तथा सप्तऋषिको पुजा गरिने गरिन्छ ।
यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दतिवनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । यस्तो गर्दा रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस्