स्वास्थ्य मन्त्रालयले लियो अक्सिजन वितरणको जिम्मा

अब कोटा तोकिए अनुसार अस्पतालहरूले पुरा अक्सिजन पाउँछन्

अक्सिजन वितरणमा समस्या देखिएको निष्कर्ष निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरणको जिम्मा आफैं लिने निर्णय गरेको छ। यसअघि अक्सिजन वितरणको जिम्मा ‘कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र’ सिसीएमसीले गर्दै आएको थियो। 

frontline

‘आफूभन्दा ठूलो संस्थाले हामी गर्छौं भनेपछि हामीले ‘नो’ भन्ने कुरा भएन। तर तीन-चार दिनमा समस्या देखियो। त्यसैले मन्त्रालयले नगरी भएन’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।उनले अक्सिजन वितरणलाई सहज र प्रभावकारी बनाउन सिसीएमसीभन्दा मन्त्रालयलाई बढी थाहा हुने भन्दै त्यसमा डाक्टरी बुझेकै मान्छे चाहिने जनाए। 

सिसीएमसीले कोटा प्रणाली अनुसार अक्सिजन वितरणको समन्वय गर्दै आएको थियो। तर धेरै अस्पतालले कोटा अनुसार अक्सिजन सिलिण्डर नपाएको गुनासो पोखेका थिए। उपत्यकामा मात्रै ११ वटा अस्पतालले अक्सिजन अभाव रहेको भन्दै संक्रमितको उपचार गर्न नसकिने बताइसकेका छन्। यसरी अस्पतालहरूले भटाभट अक्सिजन अभावमा उपचार गर्न नसकिने जनाएपछि मन्त्रालयले वितरणलाई सहज बनाउने दाबी गर्दै सो को जिम्मा आफैं लिने निर्णय गरेको हो। 

प्रवक्ता गौतमले अब वितरणमा समस्या नआउने भन्दै अस्पतालले आवश्यक अक्सिजन पाउने दाबी गरे। ‘अब कोटा तोकिए अनुसार अस्पतालहरूले पुरा अक्सिजन पाउँछन्,’ उनले भने।मन्त्रालयले कुन अस्पतालले कति अक्सिजन पाउने कुरा त्यहाँ रहेका विरामीको संख्याको आधारमा निर्धारण गरिने जनाएको छ। गौतमका अनुसार अब दैनिक अस्पतालहरूमा विरामीको संख्या हरेर कुन अस्पताललाई कति अक्सिजन दिने भनेर कोटा तोकिने छ। 

मन्त्रालयले अक्सिजन वितरणको सहजिकरण गर्नका लागि टिम (क) र टिम (ख) गरेर दुई वटा टिम गठन गरेको छ। जस अनुसार टिम (क) मा प्रमुख स्वास्थ्य प्रशासक डा. प्रकासप्रसाद शाह र उप-सचिव महेश पाण्डे रहेका छन्। यसैगरी टिम (ख) मा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन न्यौपाने र उपसचिव सानुबाबु अधिकारी रहेका छन्।

अब यी दुई टोलिले नै अक्सिजन वितरणको समन्वय गर्ने प्रवक्ता गौतमले जनाए। मन्त्रालयले अस्पतालहरूलाई अक्सिजन व्यवस्थापनलाई सहजिकरण गर्न चौबिसैं घण्टा उपलब्ध हुने गरी ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्न सकिने जनाएको छ। साथै heoc1133@gmail.com मा पनि सम्पर्क गर्न सकिने बताइएको छ। 

तर मन्त्रालयले अक्सिजन विरतरणको जिम्मा लिएपनि अहिले भइरहेको समस्या हल हुने देखिँदैन। किनभने अक्सिजन उत्पादन गर्ने उद्योगहरूले नै माग अनुसार अक्सिजन पुर्याउन नसकिएको जनाएको छ। मन्त्रालयले नै अक्सिजन अभाव रहेको कुरालाई तत्काल हल गर्न नसकिने बुझेर सय बेढ माथिका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र आफै अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ। तर निजी अस्पतालहरूले अहिलेको अवस्थामा अक्सिजन प्लान्ट जोड्न नसकिने भन्दै मन्त्रालयको निर्णय हावादारी भनेको छ। 

निजी अस्पतालहरूको छाता संगठन ‘एशोसियसन अफ प्राभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल’ अफिले विज्ञप्तिमा भनेको छ, ‘सिमित साधनस्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित विरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here