स्वास्थ्य मन्त्रालयद्वारा स्मार्ट लकडाउनको सिफारिस
शनिबार, काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।
बैठकपछि कुरा गर्दै सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए ।
उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ ।
सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।
स्मार्ट लकडाउनको अवधारणा पेश भएको छ र आजैदेखि छलफल सुरु भएको छ’ प्रवक्ता खतिवडाले भने, ‘यसबारे चाँडै बस्ने बैठकले टुंगो लगाउनेछ ।’
संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्