स्याङवचेमा पुरुषको शव फेला
३१ असोज, जोमसोम । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ घीलिङस्थित स्याङवचेमा सोमबार बिहान शव फेला परेको छ।
प्युठानको नौबैनी गाउँपालिका-५ घर भई केही महिनाअघि ज्याला मजदुरी गर्ने क्रममा मुस्ताङ आएका २९ वर्षीय झगुलाल गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
शव फेला परेको सूचना प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीसहितको टोली र लोघेकर-१ चराङमा रहेको प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा भिरालो सतहबाट पैदल हिँड्ने क्रममा खसेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले स्याङवचेमा भेटिएको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुस्ताङ ल्याउँदै गरेको जानकारी दिए।
गिरी करिब ३ महिनाअघि सो स्थानमा सिँचाइ कुलोको काम गर्न त्यहाँ पुगेका थिए। उनकी श्रीमती पनि सो स्थानमा कुलो बनाउने काममा गएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्