स्थानीय तहले किन फर्काउँछ प्रशासकीय अधिकृत ?
कपिलवस्तुको मायादेवी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत लोकेश चौधरीलाई हाजिर नै गर्न दिएन । गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले कार्यपालिका सदस्यहरुले नरुचाएपछि चौधरीलाई फिर्ता पठाएको बताए । ‘उहाँले कार्यपालिका सदस्यहरुलाई हाजिर नगराए मुद्दा हाल्छु भन्नुभएछ’, उनले भने, ‘कार्यपालिका बैठकले नै उहाँलाई फिर्ता पठाउने निर्णय गर्यो ।’
सो गाउँपालिका करिब डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । पशु सेवाका परमेश्वर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रुपमा काम गरिरहेका छन् । उनी नै काम गर्न सजिलो व्यक्ति भएको भन्दै गाउँपालिकाले संघीय सरकारले पठाएको प्रशासन सेवाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने निर्णय गरेको हो ।
दैलेखको ठाँटीकाँध गाउँपालिकाले पनि प्रमुख प्रशासकीय अधिकृत हेमन्त चुनारालाई हाजिर गर्न दिएन । गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले सहमतिमै चुनारालाई फिर्ता गरिएको दाबी गरे । ‘उहाँ आफैंले यहाँ बस्न त्यति मन गर्नुभएन,’ उनले भने, ‘दुबै पक्षको सहमतिमा हामीले फिर्ता पठाएको पत्र लेख्यौं ।’
इलामको माईजोगमाई गाउँपालिकाले पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा गएका स्काई पोखरललाई हाजिर गराउन मानेन । हाजिर गर्न कार्यालय पुग्दा समेत पोखरेललाई अध्यक्षको आदेश भन्दै त्यहाँका कर्मचारीले हाजिर गर्न नदिई फर्काइएको छ ।
प्रतिक्रिया दिनुहोस्