स्थानीय तहको बैंक खातामा रहेको सबै रकम सम्बद्ध बैंकमै राख्न पाउने व्यवस्था गर्न माग

स्थानीय तहको बैंक खातामा रहेको सबै रकम सम्बद्ध बैंकमै राख्न पाउने व्यवस्था गर्न बैंकहरूले सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सुझाव दिने क्रममा वाणिज्य बैंकको छातासंगठन नेपाल बैंकर्स संघले यस्तो माग गरेको हो ।

अहिले पालिकाहरूको बैंक खातामा रहेको कुल बचतको ५० प्रतिशत रकम सम्बन्धित बैंकले आफ्नो खातामै राख्न पाउने व्यवस्था छ । यही व्यवस्थाअनुसार खातामा रहेको शतप्रतिशत रकम नै राख्न पाउने व्यवस्था गर्न संघले आग्रह गरेको हो ।

frontline

हाल पालिकाहरूको खातामा रहेको रकमको ५० प्रतिशत संकलन भएको भोलिपल्ट राष्ट्र बैंकको खातामा जम्मा हुने व्यवस्था छ  । यो व्यवस्था हुनुअघि शतप्रतिशत नै रकम संकलन भएको भोलिपल्ट राष्ट्र बैंकको खातामा पठाउनुपर्थ्यो । यो व्यवस्थाले सरकारी ढुकुटीमा धेरै रकम जम्मा भएको र बैंकमा लगानी गर्ने पैसा नभएपछि ५० प्रतिशत बैंकमै राख्न पाउने व्यवस्था गरिएको हो । अहिले बैंकहरूले उक्त सीमा बढाएर शतप्रतिशत पुर्‍याउन आग्रह गरेका हुन् ।

मुलुकमा रहेको कुल विदेशी विनिमय सञ्चितिको आधा रकम पूर्वाधारलगायत ठूला परियोजनामा लगाउनुपर्ने पनि संघको सुझाव छ । गत फागुनसम्म राष्ट्र बैंकमा १२ अर्ब ५७ करोड अमेरिकी डलर सञ्चित छ । त्यसमध्ये करिब ६ अर्ब डलर ठूला सडक परियोजना (काठमाडौं–निजगढ, सगरमाथा, रारा ताल आदि क्षेत्र) मा खर्च गर्न सकिए यसले मुलुकलाई नै विकासको गतिमा लैजान सक्ने र धेरै लाभ हुने संघको निष्कर्ष छ ।

गैरआवासीय नेपालीहरूसँग भएको पुँजी नेपाली सेयर बजार (पुँजी बजार) मार्फत प्रवर्द्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ । मुलुकमा रहेका विभिन्न अध्ययन संस्थालाई स्वायत्त तथा प्रतिष्ठित बनाउनुपर्ने सुझाव पनि संघको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here