‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी किशोरी स्कुल पोसाकमै बेपत्ता
‘आफूले मन पराएको केटाले ४ बजेसम्म नभेटे आफू बेपत्ता हुन्छु‘
२३ भदौ, काठमाडौं । कैलालीमा ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया किशोरी बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ की ती किशोरी बेपत्ता भएकी हुन् । गएको सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै उनी घरबाट निस्किएकी थिइन् ।
उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ की विद्यार्थी हुन् । विद्यालय पोसाकमै घरबाट निस्किएकी थिइन् । कैलाली प्रहरी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली उनको खोजीमा सक्रिय छ ।
ती किशोरी आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको बताइएको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।
आइतबार उनको झोला भाइलाई दिएर घर पठाएकी थिइन् । तर, झोला स्कुल बसमै छुटेको थियो । सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको खुलेको एक प्रहरी अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले भने, “उनले आफ्नी बहिनीलाई आफूले मन पराएको केटाले ४ बजेसम्म नभेटे आफू बेपत्ता हुन्छु भनेकी रहिछिन् । यसलाई सामान्य रूपमा लिइयो । त्यसपछि उनी सम्पर्कमा छैनन् ।”
प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । उनले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान जटिल बनेको अधिकारीहरू बताउँछन् । प्रहरीले उनले मन पराएको भनेको केटासँग पनि सोधपुछ गरेको छ । उनले किशोरीलाई ‘तिमी सानै छौ’ भनेर सम्झाएको बताएका छन् ।प्रारम्भिक अनुसन्धानका क्रममा कुकुरको समेत प्रयोग गरिएको र कुनै पनि ‘क्लु’ भेटाउन नसकेको डीएसपी जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्