सैनिक कल्याणकारी कोषको २ करोड घोटाला : पूर्वजमदार प्रहरी हिरासतमा, सहायक रथी छानबिनमा

रकम अपचलन गरेपछि बिदामा सहुलियत, पेट्रोल कुपन दिने र क्यान्टिनमा खाजा खुवाउने गरेको पूर्वजमदार आत्मराम थापाको बयान ।
२६ वैशाख, काठमाडौं । नेपाली सेनाका बहालवाला सहायक रथी समेतको मिलेमतोमा सैनिक कल्याणकारी कोषबाट ठूलो रकम घोटाला भएको खुलेको छ ।




बहालवाला सहायक रथी रोशन खड्का र बहालवाला सेनानी बोधराज कार्कीसमेतको मिलेमतोमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखाबाट २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको खुलेको हो ।
यो प्रकरणमा नेपाली सेनाका अवकाशप्राप्त जमदार ४५ वर्षीय आत्मराम थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान समेत गरेको छ । यही प्रकरणमा संलग्न रहेको आरोप लागेका अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी भने अहिलेसम्म फरार छन् ।
सैनिक प्रहरी गण जंगीअड्डाले ३१ चैत २०८१ मा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंलाई पत्राचार गर्दै यो प्रकरणको अनुसन्धान गर्न भनेको थियो ।
पक्राउ परेका आरोपित थापाले सहायक रथी खड्का र सेनानी कार्कीको नाम लिएपछि प्रहरीले उनीहरूमाथि पनि अनुसन्धान अघि बढाउन लागेको थियो । तर प्रहरी स्रोतका अनुसार सेनाले नै छानबिन गरिरहेको भन्ने पत्र पठाएपछि प्रहरीले उनीहरूमा कुनै सोधपुछ गरेन ।
त्यसपछि प्रहरीले आत्मराम थापालाई पक्राउ गरेर अनुसन्धान गरेको हो । परिसरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५२ को कसुरमा थापा र अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।
जसमा ठगी बराबरको रकम २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो र क्षतिपूर्ति समेत मागदाबी गरिएको छ । त्यसैगरी आपराधिक विश्वासघात गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकाले सोही अनुसार मागदाबी गरिएको छ ।
आन्तरिक छानबिनमा सहायक रथी खड्कासहितका व्यक्ति
२ करोड रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वजमदारले भने त्यतिबेलाका हाकिमहरूको निर्देशनमा आफूले काम गरेको भन्दै बयान दिएपछि सेनाका उच्च तहका व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् ।
सैनिक प्रवक्ता सहायक रथी गौरव केसीले यो विषय अहिले छानबिनकै क्रममा रहेको स्वीकारे पनि त्यो भन्दा बढी बताउन चाहेनन् । ‘यो विषयमा हाम्रो आन्तरिक छानबिन पनि जारी छ । अहिले छानबिनकै क्रममा रहेकाले केही बताउन मिल्ने कुरा पनि भएन । दोषी देखिएको अवस्थामा सम्बन्धित व्यक्ति कारबाहीमा पर्छन्,’ केसीले अनलाइनखबरसँग भने ।
खड्का र कार्कीसहित यो प्रकरणमा अन्य व्यक्तिहरूमाथि सेनाले आन्तरिक छानबिन गरेको स्रोतको भनाइ छ ।
पक्राउ परेका आरोपित थापाले सहायक रथी खड्का र सेनानी कार्कीको नाम लिएपछि प्रहरीले उनीहरूमाथि पनि अनुसन्धान अघि बढाउन लागेको थियो । तर प्रहरी स्रोतका अनुसार सेनाले नै छानबिन गरिरहेको भन्ने पत्र पठाएपछि प्रहरीले उनीहरूमा कुनै सोधपुछ गरेन ।
‘अनुसन्धानका क्रममा बहालवाला सहायक रथी खड्का र सेनानी कार्की समेतको मिलेमतो देखिए पनि उनीहरू बहालमै रहेकाले सैनिक ऐनअनुसार कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेर छानबिन भइरहेको पत्र पठाएपछि उनीहरू हाम्रो अनुसन्धानमा परेनन्,’ परिसरका एक अधिकृतले अनलाइनखबरसँग भने ।
खड्का र कार्कीसहित यो प्रकरणमा अन्य व्यक्तिहरूमाथि सेनाले आन्तरिक छानबिन गरेको स्रोतको भनाइ छ ।
२ करोड घोटालाको ७ वर्षपछि बल्ल थाहा पायो सेनाले
करिब ७ वर्ष पहिले २०७४ सालदेखि नै सैनिक कल्याणकारी निर्देशनालबाट रकम घोटाला भए पनि यसको ७ वर्षपछि मात्रै सेनाले थाहा पाएको खुलेको छ ।
आवास तथा बीमा वापतको रकमबाट १३ कात्तिक २०७४ देखि २६ भदौ २०७५ सम्मको अवधिमा रकम घोटाला भएको थियो । यो अवधिको बीचमा १४४ वटा चेकबाट १ करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ अपचलन भएको थियो ।
त्यसैगरी ९ फागुन २०७३ देखि १७ असोज २०७५ सम्म ४० वटा चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ रकम अपचलन गरेको बताइएको छ ।
यो अवधिमा उक्त शाखामा कार्यरत जमदार कर्मचारी थापा कार्यरत थिए । उनैले विभिन्न व्यक्तिका काल्पनिक नाम उल्लेख गरी रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले विशेष गरी मानार्थ उपसेनानी राम थापाको नामबाट रकम अपचलन गरेको बताइएको छ । थापाले नै चेक तयार गर्ने र चेक भुक्तानी प्राप्त गर्दा पनि आफ्नै मोबाइल नम्बर समेत राखेको पाइएको छ ।
यसरी रकम अपचलनमा संलग्न भएका पूर्वजमदार थापा २२ पुस २०५९ मा अमल्दार कर्मचारीको रूपमा सेनामा भर्ना भएका थिए । उनी २०७३ देखि २०७५ को बीचमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखा भद्रकालीमा कार्यरत थिए ।
यो शाखाबाट उपदान, सकल दर्जाका कर्मचारीहरूले प्राप्त गर्ने आवास तथा बीमा वापतको रकम भुक्तानी गर्ने काममा उनी खटिएका थिए ।
यो बीचमा उक्त निर्देशनालयमा तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्का कार्यरत थिए ।
थापाले भने उनीहरू भने बमोजिम तथा दिएको सूची अनुसार नै चेक तयार गर्न लगाउने गरेको दाबी गर्दै बयान दिएका छन् । ‘म कार्यरत रहँदा सेनानी, प्रमुख सेनानीहरूले भने बमोजिम नै चेक तयार गर्ने र चेकहरूबाट रकम भुक्तानी लिई आउनु भनेकाले मैले ती चेक सटही गरी नगदै रकम लिई सो रकम तत्कालीन सेनानी लक्ष्मण अधिकारी, बोधराज कार्की र प्रमुख सेनानी रोशन खड्कालाई समेत दिने गर्थें,’ प्रहरी हिरासतमा रहेका पूर्वजमदार थापाले बयानमा भनेका छन् ।
आफू सबैभन्दा जुनियर कर्मचारी भएकाले हाकिमले भने बमोजिम नै ती चेकहरू नेपाल बैंक लिमिटेडको त्रिपुरेश्वर शाखामा पेस गरेर भुक्तानी लिई रकम फेरि हाकिमलाई नै दिएको थापाको भनाइ छ ।
यो काम गरेपछि खड्का, कार्की र अधिकारीले आफूलाई बिदामा सहुलियत, पेट्रोल कुपन दिएको क्यान्टिनमा खाजा खुवाएको थापाले बताएका छन् ।
नेपाली सेना |सैनिक कल्याणकारी कोष
प्रतिक्रिया दिनुहोस्