सेयरदेखि गजेडीको दुर्व्यवहार र मृत्युमा विभेदसम्म
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सेयर बजारलाई निगरानीमा राख्नुपर्ने बताएका छन्। पछिल्लो समयमा सेयर बजार बिनाआधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराएका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका सत्तारूढ दल कांग्रेसका सांसद डा. प्रकाशशरण महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुन सक्ने औंल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे।
महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्न सक्ने जोखिम रहेकाले त्यसो हुन नदिन सरकारको ध्यानाकर्षण गराए। उनले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना भने देखिएको बताए। खुकुलो मौद्रिक नीति र कांग्रेस–एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिनमा बढ्दै जाने देखिएको तर्क गरे।
प्रतिनिधिसभाको ‘सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उपसमितिले दिएको स्पष्ट निर्णय कार्यान्वयन गराउनुपर्ने भए पनि सबै निर्णयहरूलाई लत्याएर अनावश्यक रूपमा निर्णय उल्ट्याउने उद्देश्यका साथ अनैतिक छलफल गरेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले आरोप लगाए।
‘बक्यौता तिर्न बाँकी उद्योगीसँग उहाँले एक होटलमा रहस्यमय ढंगले भेट गर्नुभयो, भिभान्ता होटेल कुनै सरकारी कार्यालय हो? लेखा समितिलाई सिंहदरबारमा कार्यालय छुट्याइएको छ। उहाँले होटेललाई कहिलेदेखि कार्यालय बनाउनुभयो !’ उनले भने।
लेखा समिति विपक्षी दलको हुन्छ, सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस् भन्दै उनले ध्यानाकर्षण गराए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन माग गरे। उनले सरकारले समावेशिताका आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोपसमेत लगाए।
रास्वपाकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रअन्तर्गत आइतबार साँझ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा आफूमाथि कुनै राष्ट्रिय दलको जिम्मेवारीमै रहेका व्यक्तिहरूले दुव्र्यवहार गरेको बताइन्। पहिरो हेरेर फर्किने क्रममा १५/२० जना युवाले आफूलाई घेरेर दुव्र्यवहार गरेको उनको भनाइ थियो।
सांसद शिव नेपालीले जनताको समस्या बुझ्न पाँच दिन सार्वजनिक सवारीमा चढ्ने अभियान रास्वपाले चलाउँदा खिसीट्युरी गरेको गुनासो गरे। उनले भने, ‘नागरिकले सास्ती खेपेको एउटा क्षेत्र हो सार्वजनिक यातायात, राज्यका उच्च अंग, तहका उच्च अधिकारीले प्रयोग नगर्ने भएकाले होला सार्वजनिक यातायातको सुधारमा उनीहरूको चासो छैन। न सहज सेवा न सुरक्षा न यात्रुमैत्री व्यवहार, दुर्घटनाको दर र मृत्युमा पनि विभेद। यस्तो लाग्छ सार्वजनिक यातायात चढ्ने यात्रुप्रति राज्यको कुनै दायित्व नै छैन।’
नागरिकले भोग्दै आएको समस्या प्रत्यक्ष बुझ्न आफ्नो केन्द्रीय सदस्य र सांसदहरूलाई पाँच दिन सार्वजनिक यातायातमा यात्रा गर्न पार्टीले प्रस्ताव गरेको नेपालीको भनाइ थियो।
‘जनताबीच गएर उनीहरूको समस्या बुझ्छौं र समाधानको योजना दिन्छौं भनेर सुरु गरेको अभियानलाई कतिपयले खिसीटिउरीको विषय बनाएको उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले ३५ वर्षदेखि आफूले राख्दै आएको हतियार अहिले नवीकरण नभएको बताए। यो समस्या आफ्नो मात्रै नभएर यस्तो समस्या देशभर रहेको बताए।
उनले भने, ‘मैले ३५ वर्षदेखि हतियार राखेर नवीकरण गर्दै आइरहेको छु। अहिले प्वाइन्ट टु–टु बोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो। यो समस्या मेरो मात्रै होइन, देशभरको हो। यो दुर्गा प्रसाईंको हतियार बरामद पछाडिको घटनाबाट सिर्जित कुरा हो वा के हो यसको जानकारी चाहियो।’
प्रतिक्रिया दिनुहोस्