सेनाको हेलिकोप्टरबाट मनाङ र मुस्ताङमा मतपत्र ढुवानी

१७ कात्तिक, जोमसोम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङ र मनाङमा बिहीबार मतपत्र ढुवानी गरिएको छ। 

निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरमा दुवै जिल्लाका दागि मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री पठाएको हो।

frontline

प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र र अन्य निर्वाचन सामग्री नेपाली सेनाको कडा सुरक्षा निगरानीमा ढुवानी गरिएको हो। 

काठमाडौंबाट मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री पुर्‍याउन आयोगको प्रशासन शाखाका उपसचिव मुकुन्द पोखरेल र आयोगका शाखा अधिकृत बाबुराम कोइराला मुस्ताङ र मनाङमा पुगेका थिए। 

उनीहरूले मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्याललाई मतपत्र, मतदाता परिचयपत्र र अन्य निर्वाचन सामग्री हस्तान्तरण गरेका छन्। 

यस्तै मनाङमा जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा र मुख्य निर्वाचन अधिकृतको कार्यालयको टोलीलाई मतपत्र, मतदाता परिचयपत्र र निर्वाचन सामग्री बुझाएका छन्।

आयोगबाट खटिएका कर्मचारीले पहिला मनाङ र त्यसपछि मुस्ताङमा मतपत्रसहित निर्वाचन सामग्री पठाएको हो। 

मुस्ताङका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री आयोगका कर्मचारीबाट मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले रुजु गरी बुझेका हुन्। बिहान ९ बजे मनाङ र ११ बजे मुस्ताङमा मतपत्र,मतदाता परिचयपत्र र निर्वाचन सामग्री ढुवानी गरेको थियो। 

मतपत्र, मतदाता परिचयपत्र लगायतका सामग्री छाड्न मुस्ताङ आएका आयोगका आर्थिक प्रशासन शाखाका उपसचिव मुकुन्द पोखरेलले मुस्ताङ र मनाङका लागि आवश्यक पर्ने मतपत्र लगायतका निर्वाचन सामग्री ढुवानी भइसकेको जानकारी दिए। 

उनले बिहीबार नै कर्णाली प्रदेशको बाजुरामा मतपत्र ढुवानी गर्ने कार्यक्रम रहेको बताए। मुस्ताङका मुख्य निर्वाचन अधिकृत पराजुलीले मुस्ताङका लागि चाहिने मतपत्र, मतदाता परिचयपत्र लगायतका सामग्री प्राप्त भएको जानकारी दिए। उनले मुख्य निर्वाचन कार्यालयमा सुरक्षित भण्डारण गरिएको बताए।

मुस्ताङमा ३९ मतदान केन्द्र तोकिएको छ। मुस्ताङका पाँच स्थानीय तहको २५ वडामा १० हजार ९५७ जना मतदाता छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here