सुर्खेतमा १०१ कैदीबन्दीले पहिलोपटक मतदान गर्ने
२१ कात्तिक, सुर्खेत । मतदाता नामावली भएका कैदीबन्दीलेसमेत आगामी मंसिर ४ को निर्वाचनमा मतदात गर्न पाउने भएपछि सुर्खेतमा १०१ जनाले मतदान गर्ने भएका छन् ।
प्रतितिधि तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार सुर्खेतमा रहेका कैदीबन्दीले पहिलोपटक मतदान गर्ने भएका हुन् ।
विभिन्न अभियोगमा कारागारमा रहेपनि मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला कारागार सुर्खेतका सूचना अधिकारी भुवन गौतमले बताए । कैदीबन्दीलाई अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने व्यवस्था गरिएको उनले बताए ।
तर, उनीहरूले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने छन् । मतदान गर्ने कैदीबन्दीमा ८९ जना पुरुष छन् भने १२ जना महिला रहेका छन् । जिल्ला कारागार सुर्खेतमा ३३२ पुरुष, ४१ जना महिला र चारजना आश्रित बालबालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्