सुनवल बेलिब्रिजमा क्षति पुगेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
१९ मंसिर, परासी । पश्चिम नवलपरासीको सुनवलमा बेलिब्रिजमा क्षति पुगेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
स्थानीय तुरिया खोलामा रहेको पुल भदौ १० गते बाढीको कारण भासिएपछि बेलिब्रिज निर्माण गरिएको थियो ।
बेलिब्रिजमा समस्या आएपछि शनिबार साँझबाट सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालले बताए ।
नारायणगढ-बुटवल सडक बिस्तारको क्रममा नयाँ पुल निर्माणको क्रममा छ । सोही स्थानमा पुल निर्माणको लागि खाडल खन्ने क्रममा बेलिब्रिजको भाग भासिएपछि यातायात ठप्प भएको हो ।
पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि बर्दघाटबाट बुटवल जानुपर्ने सवारीलाई भुमही हुँदै भैरहवातर्फबाट संचालन गराइएको छ भने बुटवलबाट पूर्व आउने सवारीलाई भैरहवा परासी सडक खण्डबाट संचालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
भदौ १० गते बाढीको कारण जीर्ण पुल भासिएपछि भदौ ३० गतेबाट बेलिब्रिज संचालनमा ल्याइएको थियो ।
ओभरलोड सवारीको कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गतका अधिकांश पुल जीर्ण अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस्