सुनकोसी मरिणको नयाँ ठेक्का नजिक चिनियाँ कम्पनी, प्राविधिक मूल्यांकनबाट बाहिरिए भारतीय–भियतनामी कम्पनी
सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाउने निश्चितप्रायः भएको छ।
आयोजनाले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी)मा सहभागीमध्ये प्राविधिक मूल्यांकनपछि मंगलबार तीन चिनियाँ कम्पनीलाई सूचीकृत गरेको हो।
ठेक्कामा चीन, भारत र भियतनामका ६ कम्पनीले प्रस्ताव हालेका थिए। जसमध्ये ३ चिनियाँ कम्पनी सूचीकृत हुँदा चीन, भारत र भियतनामका बाँकी ३ कम्पनी प्राविधिक मूल्यांकनबाट बाहिरिएका छन्।
सूचीकृत हुने चिनियाँ कम्पनीहरुमा एम/एस चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एम/एस एनेंग–आरसीसी (रसुवा कन्स्ट्रक्सन कम्पनी) जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड छन्। त्यसैगरी बाहिरिनेमा सिल (एसआईएल)–केसी कन्स्ट्रक्सन–फेवा (भारत र नेपालको जेभी), सोङ्दा–कालिका कन्स्ट्रक्सन (भियतनाम र नेपालको जेभी) र सीआरईजीसी–एसडब्लुडीसीसी (चिनियाँ जेभी) छन्।
प्राविधिक मूल्यांकनमा सक्षम देखिएकामध्ये २ वटा कम्पनीले एकल ठेक्का हालेका छन् भने अर्को नेपाली कम्पनीसँग जेभी (संयुक्त उपक्रम)मा रहेको छ। आरसीसी नेपाली कम्पनी हो।
प्राविधिक मूल्यांकनमार्फत तीन कम्पनी छनोट भएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी अशोकराज गौतमले जानकारी दिए।
उनका अनुसार अब सूचीकृत भएका कम्पनीहरुको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते खोलिनेछ।






प्रतिक्रिया दिनुहोस्