सुदूरपश्चिममा सुस्तायो कोरोना परीक्षण
प्रदेशभर दैनिक पाँच हजार नमुना जाँच्ने क्षमता, औषतमा २-३ सय नमुनामात्र जाँच
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गत आइतबार एउटा नमुनाको पनि कोरोना परिक्षण भएन । दैनिक एक हजार दुई सय नमुनाको पिसिआरबाट कोरोना जाँच्ने क्षमता रहेको यो प्रयोगशालामा सातायता दैनिक सयभन्दा कम नमुना जाँच भइरहेको छ ।
सोमबार ८७ र मंगलबार ९५ वटा नमुना मात्र जाँच भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । थ्रोट स्वाबका नमुनाहरू नआउँदा कोरोना जाँच सुस्ताएको उनले बताए । एक महिनाअघिसम्म सेतीमा दैनिक औसत ५–६ सय नमुना जाँच हुने गरेका थिए । स्वास्थ्य कार्यालय र स्थानीय तहहरूबाट नमुना आउन छोडेपछि अस्पतालमा परीक्षण घटेको हो ।
‘स्वास्थ्य कार्यालय र स्थानीय तहले नमुनाहरू संकलन गरेर जाँचका लागि पठाउँथे । संकलन नभएर हो कि अहिले नमुना आउनै छोडे,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘हिजोआज मुस्किलले सय नमुना पनि पुग्दैनन् । कुनै दिन कोरोना जाँचै नहुने अवस्था छ ।’ अस्पताल आफैँले पनि उपचारका लागि आउनेमध्ये शंकास्पद बिरामीको नमुना संकलन गरेर जाँच गर्ने गर्छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा मंगलबार नाैवटा नमुना मात्र जाँच भए । स्थानीय तहबाट नमुना आउन छाडेपछि कोरोना जाँच सुस्ताएको अस्पतालका ल्याब इन्चार्ज ईश्वरी भुसालले बताए । दार्चुला, बझाङ तथा डडेल्धुरासँग जोडिएका बैतडीका सीमावर्ती स्थानीय तहले नमुना संकलन गरेर परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाउने गरेका छन् ।
सुदूरपश्चिममा पछिल्लो समय कोरोना परीक्षण सुस्ताएको छ । संक्रमणको जोखिम नघटे पनि परीक्षण भने घट्दो छ । संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान र जाँचका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ पनि हुन छाडेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको नै परीक्षण भइरहेको छैन ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका ६ वटा प्रयोगशालामा दैनिक पाँच हजारवटा नमुना जाँच्ने सुविधा छ, तर अहिले एक सय–दुई सय नमुना मात्र जाँच भइरहेका मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।
संक्रमण दर घट्नुले पनि परीक्षण घटेको उनको भनाइ छ । लक्षण देखिएका र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको मात्र परीक्षण गर्ने सरकारले मापदण्ड बनाएकाले पनि परीक्षण घटेको कार्कीले बताए । कन्ट्याक्ट ट्रेसिङ पनि अहिले हुन छाडेको उनले बताए ।
परीक्षण घट्दै जानु र स्वास्थ्य सावधानीप्रति बेवास्ता बढ्नुले संक्रमणले विकराल रूप लिन सक्ने देखिएको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले बताएका छन् । पछिल्लो समय सुदूरपश्चिममा खासगरी राजनीतिक दलका सभा, सम्मेलनहरू दैनिकजसो भइरहेका छन् । सयौँको सहभागितामा हुने सभा–सम्मेलनबाट संक्रमण फैलने सक्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीकै सहभागितामा गत साता धनगढीमा हजारौँको सहभागितामा आमसभा भएको थियो ।
मान्छेमा पनि कोरोनाप्रतिको बेवास्ता बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । धनगढीमा स्वास्थ्य कार्यालय परिसरमा हेल्थ डेस्क राखेर दैनिक रूपमा नमुना संकलन कार्य भइरहे पनि नमुना दिन आउनेको संख्या घट्दै गएको उनले बताए ।
सुदूरपश्चिममा कैलाली, डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडीमा पिसिआर विधिबाट कोरोना परीक्षणको सुविधा छ । करिब ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा हालसम्म करिब एक लाख ३४ हजार जाँच गरिएकोमा १३ हजार आठजनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई हजार तीन सयभन्दा बढी सक्रिय संक्रमित छन् भने अन्य उपचारपछि घर फर्केका छन् । हालसम्म यो प्रदेशमा कोरोना संक्रमित ५३ जनाको मृत्यु भएको छ
प्रतिक्रिया दिनुहोस्