सुदूरपश्चिमको विकास कार्यक्रम आर्थिक मामिला मन्त्रालयको वेबसाइटबाट सार्वजनिक

११ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक विकास कार्यक्रम प्रदेश सरकारले आर्थिक मामिला मन्त्रालयको वेबसाइटबाट सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको रातो किताबमा आउँदो आर्थिक वर्ष २०७९/८० को प्रदेश सरकारबाट सञ्चालित हुने योजनाहरुको नामसहित बजेट छुट्याएको छ।

frontline

तर रातो किताबमा सुदूरपश्चिमका जिल्लाहरुको बजेट मात्र नभइ लुम्बिनी प्रदेशभित्र पर्ने जिल्लाहरुका योजना पनि प्रवेश गरिएको छ।

रातो किताबमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय कैलाली अन्तर्गत संचालन हुने योजनाहरुको नामावलीमा लुम्बिनी प्रदेशभित्र पर्ने दाङ्‍का ३ ओटा योजनाहरु पनि रहेका छन् ।

जसअन्तर्गत कालीखोला तटबन्धन लमही नगरपालिका-९ दाङको योजनामा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै सोही मन्त्रालय अन्तर्गतकै अर्को योजनामा पनि दाङ लमही नगरपालिका-९ कै सिरङ्गी खोला तटबन्धमा पनि १० लाखको बजेट विनियोजन गरेको पाइएको छ।

त्यस्तै दाङ्‍कै राप्ती नदी नियन्त्रण रजापुर गाउँपालिका-७ गिठुवा जिम्दार टोल नाम शिर्षक अन्तर्गत पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ।

यसरी एउटा प्रदेशले अर्को प्रदेशको विकासका लागि रातो किताबमा बजेट ल्याएको विरलै कम भेटिने गरेका छन् ।

तर सुदूरपश्चिम प्रदेश सरकारले यसरी बजेट ल्याउनुमा गैरजिम्मेवार र लापरवाहीको पराकाष्ठा भएको सुदूरपश्चिमका सामाजिक अभियान्ताहरु बताउँदै आइरहेका छन्।

तर प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले प्रदेश सरकारको योजना नभइ संघ सरकारको योजना भएको बताए ।

उनले भने, ‘बजेट पुस्तिकामा आएको ती योजनाहरु संघीय सरकारको सशर्त अनुदानबाट आएको हो। यी योजना हाम्रो प्रदेशबाट कार्यान्वयनमा आउँदैनन्।’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here