सुदुरपश्चिमका ‘गब्बर सिंह’ समातिए
१३ मंसिर, सुदुरपश्चिम । भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह शोले चलचित्र मार्फत कुख्यात थिए । नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ८ वटा भन्दा बढी विभिन्न मुद्धाका आरोपी शैल भन्ने शौरभबहादुर सिंह पक्राउ परेका हुन् । सिंह र उनको समूहले पछिल्लो समय ७ कात्तिकमा शैलको समूहले बेलौरी बजार पानी ट्याङ्की नजिक रहेको डिडि अटोमोबाईल्स सोरूमबाट तीनवटा मोटरसाइकल डकैती गरेर लगेको थियो ।
दिनदहाडै ग्राहक बनेर आएको समूहले डकैती गरेर लगेका पल्सर मोटरसाइकल प्रहरीले विभिन्न मितिमा बरामद गरेर यसअघि नै बिबेक बम, लक्ष्मण चुनारा, ठग्गी राना, पारष बिष्ट र किरण नाथलाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । कञ्चनपुर जिल्ला अदालतले घटनाका मुख्य योजनकार शैलु भन्ने शौरभ बहादर सिंह, नरी बिष्ट भन्ने नरेन्द्र जोशी, सतिस बोहरा र भुवन ऐर समेतका ४ जनालाई फरारी घोषणागर्दै अरेष्ट वारन्ट जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार शैलको डकैती र अपराध शैली भारतीय चम्बलका डाँका वा बागीजस्तै थियो । उनलाई लामो प्रयासपछि स्थानिय लालझाडी चान्देवस्थित एकघरबाट आइतबार बिहान ४ बजे पक्राउ गरिएको हो । ‘हामीले सर्वाधिक खोजेका अभियुक्तमध्ये एक हुन्,’ एसपी चतुर्वेदीले भने, ‘यसक्षेत्रमा यी अभियुक्तको आतंक जस्तै थियो ।’
प्रहरीका अनुसार शैल र उनको समूह बिरुद्ध २०७४ पुसयता ८ थान जघन्य मुद्धा दर्ता भएका छन् । यो समूह बिरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागूऔषध मुद्धा दर्ता भएको छ ।
यस्तै जिप्रका कञ्चनपुरमा २२ पुस २०७४ मा ज्यान मार्ने उद्योग औषध मुद्धा र जिल्ला प्रहरी कार्यालय कैलालीमा १० साउन २०७४ मा चोरी मुद्धा दर्ता रहेको छ । यस्तै इप्रका झलारीमा मात्रै यो समूह बिरुद्ध विभिन्न मितिमा तीनथान चोरी मुद्धा दर्ता छ । यस्तै इप्रका बेलौरीमा दुई थान चोरी मुद्धा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्